बायर्नमै रमाइरहेका केन
-1787237075513.webp&w=3840&q=75)
काठमाडौं। इङ्ल्यान्डका स्टार स्ट्राइकर ३३ वर्षीय ह्यारी केन सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर बायर्न म्युनिख पुगेका थिए। त्यसयता उनले बायर्नसँग दुईवटा बुन्डेसलिगा उपाधिका साथै जर्मन कप र सुपरकप पनि जितिसकेका छन्।
इङ्ल्यान्ड फर्किने विषयमा केन लामो समयदेखि चर्चामा छन्। प्रिमियर लिगमा उनले एलन शियररको २६० गोलको कीर्तिमान तोड्न अझै ४७ गोल गर्न बाँकी छ।

तर, बुधबार दोस्रोपटक युरोपियन ‘गोल्डेन शू’ जितेपछि ‘फोफोटू’सँग कुरा गर्दै केनले प्रिमियर लिगमा फर्किने आफ्नो चाहना पहिलेको तुलनामा कम भएको बताएका छन्। लगातार इङ्ल्यान्ड फर्किने चर्चा भइरहेका बेला उनले आफू अहिले जर्मन क्लब बायर्न म्युनिखमै पूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पारेका हुन्।
‘टोटेनहम छाड्दा पक्कै पनि म कुनै दिन फर्किन्छु भन्ने सोचेको थिएँ। तर‚ अहिले त्यो चाहना त्यति बलियो छैन। म म्युनिखमा निकै खुसी छु,’ उनी भन्छन्।
-1787237114976.webp)
उनले इङ्ल्यान्डबाहिरको फुटबल संसारले आफ्नो सोच नै परिवर्तन गरिदिएको पनि बताए। ‘म कहिल्यै प्रिमियर लिगमा फर्किन भन्दिनँ। तर‚ अहिले मेरो ध्यान बायर्नमै छ। भविष्यमा के हुन्छ, त्यो हेर्दै जाऔं,’ केनले भने।
बायर्नसँग केनको सम्झौता आगामी वर्ष सकिँदैछ। आफ्नो भविष्यबारे क्लबसँग चाँडै छलफल सुरु हुने उनले बताए पनि दुवै पक्षलाई तत्काल निर्णय गर्नुपर्ने कुनै हतार नरहेको स्पष्ट पारे।
-1787237145472.webp)
२०२५–२६ सिजनमा केनले बुन्डेसलिगामा ३६ गोल गर्दै लगातार दोस्रोपटक लिगको सर्वाधिक गोलकर्ता बने। उनले दोस्रो युरोपियन ‘गोल्डेन शू’ पनि जिते। बायर्नका लागि उनले अहिलेसम्म १४७ खेलमा १४६ गोल गरेका छन्, जसमा बुन्डेसलिगाका ९४ खेलमा ९८ गोल छन्।
बायर्नले नयाँ बुन्डेसलिगा सिजनको सुरुआत अगस्ट २८ मा भीएफबी स्टुटगार्टविरुद्धको खेलबाट गर्नेछ।






-1787239351737.webp&w=3840&q=75)


-1787235818152.jpeg&w=3840&q=75)


