मदिरा सेवन गरेर गाडी चलाएपछि वार्नरलाई जरिवाना

काठमाडौं। मदिरा सेवन गरेर गाडी चलाएको अभियोग स्वीकार गरेको केही समयपछि अस्ट्रेलियाली पूर्वओपनर डेभिड वार्नरले सजाय पाएका छन्।
सिड्नी अदालतले उनलाई दोषी ठहर गर्दै १ हजार ५०० अस्ट्रेलियन डलर जरिवाना गरेको हो। अदालतले वार्नरलाई अबदेखि गाडी चलाउँदा ‘इन्टरलक डिभाइस’ प्रयोग गर्न पनि आदेश दिएको छ।
यो उपकरण जडान गरेपछि उनको शरीरमा मदिराको मात्रा रहेको पत्ता लागेमा गाडी स्टार्ट हुन दिँदैन। गत अप्रिल ५ मा सिड्नीको पूर्वी क्षेत्रमा गरिएको चेकजाँचको क्रममा प्रहरीले वार्नरलाई रोकेर मदिरा परीक्षण गरेको थियो।
प्रारम्भिक परीक्षणमा नतिजा पोजिटिभ आएपछि उनलाई मारौब्रा प्रहरी स्टेसन लगेर पुनः परीक्षण गरिएको थियो। दोस्रो परीक्षणमा उनको रगतमा अल्कोहलको मात्रा ०.१०४ पाइएको थियो, जुन कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी हो।
अदालतमा वार्नरका वकिलले उनलाई थप सजायबाट छुट दिनुपर्ने तर्क गरेका थिए। घटनाले विश्वभरका सञ्चारमाध्यममा व्यापक चर्चा पाएकाले उनले सार्वजनिक रूपमा ठूलो क्षति व्यहोरेको दाबी वकिलको थियो।
वेभर्ली लोकल कोर्टमा वकिल आवाइज अहमदले वार्नरको घटनालाई ईएसपीएन, अल जजिरा र द इन्डियन एक्सप्रेसलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेको बताएका थिए। यस्तो घटनाले वार्नरको व्यावसायिक अवसरमा समेत असर पर्न सक्ने उनको तर्क थियो।
अब इन्टरलक लाइसेन्सका लागि आवेदन दिएर आफ्नो गाडीमा उक्त उपकरण जडान गरेपछि मात्रै वार्नरले पुनः गाडी चलाउन पाउनेछन्।














