राजशाहीको फराकिलो हार

काठमाडौं। बंगलादेशी महिला फुटबलले अन्तर्राष्ट्रिय स्तरमा धेरै सफलता हासिल गरिसकेको छ।
तर, राष्ट्रिय टोलीले उल्लेख्निय उपलब्धि हासिल गरेपनि कुनै पनि बंगलादेशी महिला फुटबल क्लबले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न सकेको थिएन।
यसैपटक राजशाही स्टार्सले पहिलोपटक एएफसी महिला च्याम्पियन्स लिगमा बंगलादेशको प्रतिनिधित्व गरेको छ। तर‚ प्रतियोगिताको आफ्नो पहिलो खेलमै भारतीय क्लब ईस्ट बंगालसँग ४–० को फराकिलो हार बेहोरेको छ।
नेपाली डिफेन्डर विमला बिकसम्मिलत टोलीविरुद्ध खेलको १०औं मिनेटमै ईस्ट बंगालले पेनाल्टीमार्फत अग्रता लिएको थियो। ओलिभियाले पेनाल्टीलाई गोलमा परिणत गर्दै भारतीय टोलीलाई अघि बढाइन्। त्यसको १६ मिनेटपछि ओस्ताम ओरोआनले गोल गर्दै ईस्ट बंगालको अग्रता २–० मा पुर्याइन्।
पहिलो हाफ सकिनुअघि नै ओलिभियाले व्यक्तिगत दोस्रो गोल गरेपछि ईस्ट बंगाल ३–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि राजशाही स्टार्सले खेलमा फर्कने अवसर सिर्जना गर्न सकेन। ईस्ट बंगालले थप एक गोल गरेपछि खेल ४–० मा टुंगियो।
राजशाही स्टार्समा ऋतुपर्णा चक्माबाहेक बंगलादेश राष्ट्रिय टोलीका लगभग सबै मुख्य खेलाडी सहभागी छन्। बलियो टोली हुँदाहुँदै पनि भारतीय क्लबविरुद्ध एक गोलसमेत गर्न नसक्नु र चार गोल खानु टोलीका लागि निराशाजनक सुरुआत बनेको छ।
यसअघि केही महिनाअघि भारतमा भएको साफ महिला च्याम्पियनसिपमा पनि पिटर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशले भारतसँग दुईपटक पराजय बेहोरेको थियो। क्लब फुटबलमा पनि भारतीय टोलीविरुद्ध बंगलादेशी टोलीको त्यही नतिजा दोहोरिएको छ।
राजशाही स्टार्सले अब बिहीबार प्रतियोगिताको अर्को खेलमा आयोजक मलेसियाको क्लब साबाह एफएसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको अन्तिम खेलमा भने उसले गुआमको क्लबविरुद्ध खेल्नेछ।










-1786962886448.jpeg&w=3840&q=75)
-1786939843966.webp&w=3840&q=75)
