रोनाल्डिन्हो इटाली पुगे

काठमाडौं। ब्राजिलका महान फुटबलर रोनाल्डिन्हो बिहीबार इटाली पुगेका छन्।
४६ वर्षीय रोनाल्डिन्हो इटालीको तेस्रो डिभिजन क्लब राभेन्ना एफसीसँग आबद्ध भएका हुन्। उनले क्लबमा हिस्सेदारीसमेत लिएका छन्। यद्यपि, उनले आफ्नो करिअरमा अर्को एक गोलका लागि पुनः मैदानमा फर्किने वा नफर्किने विषयमा भने स्पष्ट जवाफ दिएका छैनन्।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टोलीका सदस्य रहेका रोनाल्डिन्होले पेरिस सेन्ट–जर्मेन (पीएसजी), बार्सिलोना र एसी मिलानबाट समेत खेलिसकेका छन्। उनी बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे फोर्ली विमानस्थलमा अवतरण गरेका थिए। त्यसपछि राभेन्नाको टोली परिचय कार्यक्रम आयोजना गरिएको थियो।
सन् २००५ का बालोन डी’ओर विजेता रोनाल्डिन्होको अन्तिम प्रतिस्पर्धात्मक खेल सन् २०१५ मा फ्लुमिनेन्सबाट भएको थियो। उनको राभेन्नासँगको सम्झौता जुनमा घोषणा गरिएको थियो। क्लब उनका मित्र इग्नाजियो सिप्रियानीको स्वामित्वमा छ, जसले राभेन्नालाई पहिलोपटक इटालीको शीर्ष डिभिजनमा पुर्याउने लक्ष्य राखेका छन्।
सिप्रियानीले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै रोनाल्डिन्होलाई क्लबमा ल्याउनुको उद्देश्य सहरका मानिसलाई टोलीसँग अझ नजिक जोड्नु र नयाँ सिजनका लागि उत्साहपूर्ण समर्थक आधार निर्माण गर्नु रहेको बताए।
तर‚ रोनाल्डिन्होले सोमबार रेग्जियानाविरुद्ध हुने राभेन्नाको सिजनको पहिलो खेलमा सहभागिता जनाउने छैनन्। क्लबका अध्यक्ष सिप्रियानीले पनि यसको पुष्टि गरेका छन्।
रोनाल्डिन्होले भविष्यमा राभेन्नाको जर्सी लगाएर मैदानमा उत्रिने र आफ्नो करिअरको ३००औं गोल गर्ने सम्भावनाबारे सोध्दा भने मुस्कुराउँदै सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेनन्।
‘यदि त्यस्तो भयो भने, त्यो अझ सुन्दर हुनेछ,’ उनले भने। उनले थपे,‘मलाई थाहा छैन। यो अध्यक्ष र प्रशिक्षकमा निर्भर गर्छ। म यहाँ हाम्रो मित्रताका कारण आएको हुँ। अब टोलीले राम्रो प्रदर्शन गरोस् भन्ने चाहन्छु। म सहयोग गर्न यहाँ छु।’






-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)


-1787235818152.jpeg&w=3840&q=75)

