कर्नाटकविरुद्ध नेपाल ११६ रनले विजयी

काठमाडौं। अभ्यास खेलमा नेपालले कर्नाटकलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली २८ ओभरमा ७२ रनमै अलआउट भयो। कर्नाटकका लागि शरथ श्रीनिवासले ३२ रन बनाएर सर्वाधिक योगदान दिए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाली बलर करन केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान २ विकेट लिए। हेमन्त धामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा १८८ रन बनाएको थियो।
नेपालका आसिफ शेखले सर्वाधिक ४९ रन बनाए। इशान पाण्डेले ३४, देव खनालले २७ र सन्दीप जोराले २७ रनको योगदान दिए। बसिर अहमद १९ रनमा अविजित रहे भने गुल्सन झाले ११ रन बनाए।
कर्नाटकका कीर्ति एमले ५ विकेट लिए। उनले ८ ओभरमा एक मेडन राख्दै २० रन दिए। आदित्य गोयल, सन्तोष सिंह, अरविन्दकुमार राई, चिरन्त शिवरुद्रर सागर गौतमले १ विकेट लिए।













