राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

काठमाडौ। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असार १ देखि ६ गतेसम्म कीर्तिपुरस्थित इन्डोर कभर्ड हलमा हुने भएको छ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङका अनुसार प्रतियोगितामा उपत्यकाबाहिरका तीनसहित आठ टोली सहभागी हुनेछन्।
सहभागी टोलीमा कास्कीको अन्नपूर्ण बास्केटबल एसोसिएसन, सुनसरी बास्केटबल एसोसिएसन, आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, लुम्बिनी प्रदेश, ट्रेनिङ ग्राउण्ड, बुढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्स रहेका छन्।
यी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा अन्नपूर्ण बास्केटबल एसोसिएसन, सुनसरी बास्केटबल एसोसिएसन, आईएसए नेपाल र लेट्स गो बास्केटबल एकेडेमी छन्। समूह ‘बी’ मा लुम्बिनी प्रदेश, ट्रेनिङ ग्राउण्ड, बुढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्स रहेका छन्।
प्रतियोगिताको पहिलो दिन अन्नपूर्ण र सुनसरी, आईएसए नेपाल र लेट्स गो, लुम्बिनी र ट्रेनिङ ग्राउण्ड तथा बुढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्सबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका खेल असार ३ गतेसम्म सञ्चालन हुनेछन्।
प्रतियोगिताको कुल बजेट १३ लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी (एमभीपी) ले १० हजार रुपैयाँ, उदीयमान टोलीले १० हजार रुपैयाँ तथा उपत्यकाबाहिरबाट सहभागी उत्कृष्ट उदीयमान खेलाडीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
संघका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोली छनोटमा समेत प्राथमिकता दिइनेछ।
गत संस्करणको उपाधि प्राइम स्पोर्ट्स क्लबले जितेको थियो भने ह्वाइट हाउस बास्केटबल क्लब उपविजेता बनेको थियो।
















-1785079914931.jpeg&w=3840&q=75)