काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लब क्विक्स नेपाल बास्केटबल लिगबाट बाहिरिएको छ ।
प्रतियोगिताको इलिमिनेटरमा विभागीय टिम नेपाल पुलिस क्लबसंग २-० ले सिरिज गुमाउँदै गोल्डेनगेट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा सोमबार इलिमिनेटरको दोस्रो खेलमा गोल्डेनगेट पुलिससंग ९०-६५ स्कोरले पराजित भयो । यसअघि आइतबार गोल्डेनगेट पुलिससंग ७८-७२ स्कोरले पराजित भएको थियो ।
पुलिसको भने फाइनल पुग्ने सम्भावना कायम रहेको छ । पुलिसले अब फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।पुलिस क्वालिफायरमा त्रिभुवन आर्मी क्लब र टाइम्स इन्टरनेसनल बास्केटबल क्लबबीच पराजित हुने टोलीसंग खेल्नेछ ।
आर्मी र टाइम्सको बिजेताले सिधै फाइनलमा स्थान बनाउने छन् । दुई बीचको खेल १-१ को बराबरीमा रहेको छ ।
सोमबार भएको खेलमा टाइम्सले आर्मीलाई ८१-५७ ले हराएर सिरिज १-१ को बनाएको हो । आइतबार भएको खेलमा आर्मीले टाइम्सलाई ७९-६५ स्कोरले हराएको थियो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन् ।
यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।