काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगको प्ले अफ खेलमा जित निकालेका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा आइतबार भएको पहिलो प्ले अफ खेलमा नेपाल पुलिस क्लबले गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लबलाई ७८-७२ स्कोरले पराजित गर्यो ।
यस्तै दोस्रो प्ले अफ खेलमा साबिकको विजेता त्रिभुवन आर्मी क्लबले टाइम्स इन्टरनेसनल बास्केटबल क्लबलाई ७९-६५ स्कोरले हरायो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको प्रतियोगिताको प्ले अफमा ४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
चारै टोलीले एक अर्कासंग खेल्नेछन् । र, प्ले अफ अंक तालिकामा पहिलो र दोस्रो हुनेले पहिलो क्वालिफायर खेल्नेछ । विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्नेछ ।
तेस्रो र चौथो हुने टोलीले इलीमिनेटर खेल खेल्ने छ । जसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख पुरस्कार पाउने छन् ।
यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।