काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १२ औ भारतमा आयोजना हुनु अघि नेपालले नाकाबन्दी सामना गर्नुपरेको थियो ।
नाकाबन्दीले मुलुक आक्रान्त बनिरहदाँ खेलकुद त्यसबाट प्रभावित नहुने कुरै भएन । सिमित स्रोत साधनमा तयारी गरेर भारत पुगेको नेपालले केही नतिजा आत्मसाथ गर्यो ।
नेपालको पुरुष फुटबल टिमले सागमा स्वर्ण जित्यो, त्यो पनि भारतलाई हराएर । फाइलनमा नेपालले भारतलाई २–१ ले हराएको थियो ।
सन् २०१६ को फेब्रुअरीमा भएको खेलमा नेपालमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
भारतीय भुमीमा स्वर्ण पदक जिते लगत्तै सरकारले विजेता टिमका सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको थियो ।
राखेपको कार्यविधिमै सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने उल्लेख छ । तर सरकारले घोषणा गरेरै खेलाडीलाई ५ लाख सहित सम्मान गर्ने बतायो ।
घोषणाको केही समयमा सरकारले खेलाडीलाई बोलाएर २ लाख सहित प्रमाणपत्र दिएको थियो । बाँकी ३ लाख भने उधारो राखेको थियो । प्रतियोगिता जितेको झण्डै तीन बर्ष पछि खेलाडीले उधारो पुरस्कार पाएका छन् ।
रकम थाप्न खेलकुद मन्त्रालय पुगेका खेलाडीले बाँकी रकम पाउनेमा आफुले आश मारिसकेको बताए ।
‘हामी आफै अचम्मित छौ । यो पैसा कसरी आयो । हामीले दिन्छ भनेर सोचेका पनि थिएनौँ ।’ पुरस्कार थापेका एक खेलाडीले खेलपाटीसंग भने ।
सरकारले बुधबारमात्रै पुरस्कार बितरण गर्ने बताएपछि विजेता टिमका ४ खेलाडी मन्त्रालय पुगेका थिए । धेरै खेलाडी प्रतियोगिताका लागि काठमाडौं र देश बाहिर छन् ।
नेपाली टिमको प्रतिनिधित्व गर्दै मन्त्रालय पुगेका गोलरक्षक विकेश कुथुले ढिलै भएपनि पुरस्कार पाएकोमा खुसी ब्यक्त गरे ।
‘हामीले पुरस्कार पाएका छौ । मन्त्रालय र एन्फा सबैलाई धन्यवाद ।’ उनले भने । सम्मान कार्यक्रमले खेलाडीलाई हौसला मिल्ने र खेल्न सहज हुने उनले बताए ।
पुरस्कार वितरणमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, गोलरक्षक विकेश कुथु, अमृत चौधरी, मानबहादुर तामाङ र रन्जन विष्ट सहभागी थिए । पुरस्कार पाएपछि विकेश कुथुले खेलाडीले बाँकी पुरस्कार रकम पाउने, नपाउनेमा द्वविधामा रहेको बताए ।
‘पुरस्कार पाउछौ कि पाउदैनौ भन्ने लागेको थियो । तर ढिलै भएपनि पाईयो । खुसी छौ ।’ उनले भने । खेलाडीले उधारो रकम नपाउने भनेर माया मारिसकेका थिए । विकेशले थपे, ‘खेलाडीले पाउने सम्मान समयमै पाउनुपर्छ ।’
‘नाकाबन्दी सहेर भारतलाई हराएर उपाधि जितेका थियौ । पुरस्कार पुरा दिईएन । आशा मारिसकेका थियौ । तर खुसी छौ । अर्का स्ट्राइकर रन्जन विष्टले भने ।
अर्का गोलरक्षक अमृत चौधरीले १–२ महिनामा पाउने भनिएको तलब लामो समयसम्म नपाउदाँ आशा मारेको बताए । ‘सुरुमा १–२ महिना सम्म आउछ भनेर बसेका थियौ । तर आएन । त्यसपछि आश मारेका थियौै ।’ उनले भने ।
डिफेन्डर मानबहादुर तामाङले सरकारले दिने भन्ने रकममा आफु सकारात्मक नभएको बताए । ‘पैसा दिन्छ भनेर आशावादी थिईन । ३८ महिना पछि पैसा पाएका छौ । खुसी हुनुपर्छ ।’ उनले थपे ।
रकम पाउने खेलाडी :
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, अमृत कुमार चौधरी ।
डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजबंशी, कमल श्रेष्ठ, मान बहादुर तामाङ ।
मिडफिल्डर : जगजीत श्रेष्ठ, विशाल राई, बिक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, रन्जन विष्ट, सुमन लामा ।
फरवार्ड : अन्जन विष्ट, नवयुथ श्रेष्ठ, विमल घर्ति मगर ।