काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ नेतृत्व आएसँगै फेरि एक पटक रोकिएका फुटबलका गतिविधि सुरु भए । करिब ५ बर्ष रोकिएको ए डिभिजन लिगले गति लिने काम ग¥यो । बेरोजगार रहेका खेलाडीले खेल्ने मौका पाए । बिदेसिएका धेरै खेलाडी स्वदेश फिर्ता भए ।
लिगको समापनसंगै मोफसलको फुटबल फेरी एक पटक जुर्मुरायो । लिग नसकिदै पनि मोफसलको रौनक सुरु भईसकेको थियो । लिगको समापन तीन दिन अघिनै पाचथरको फिदिममा फिदिम गोल्डकप भयो । लिग खेलिरहेको खेलाडी क्लब छाडेर मोफसल खेल्न हुँईकिए ।
लगत्तै सवार्धिक पुरस्कार राशीको तेस्रो खप्तड गोल्डकप सुरु भयो । थ्री स्टारलाई उपाधि भिडन्तमा पराजित गर्दै नेपाल पुलिस क्लबले सिजनको पहिलो उपाधि जित्यो । उपाधिसंगै पुलिसले २१ र उपविजेता थ्री स्टारले ११ लाख पाउने भए ।
तर प्रतियोगिताको सकिएको दुई महिना बितिसक्दा समेत विजेता र उपविजेताले पुरस्कार रकम पाएका छैनन् । सर्वाधिक पुरस्कार राशी भन्दै प्रचार गरिएको गोल्डकपको विजेता र उपविजेता क्लबले पुरस्कार रकमनै नपाएको भन्दै फुटबल संघ एन्फामा गुनासो गरेका छन् ।
सिजनको अन्तिम समयमा आईपुग्दा समेत पुरस्कार रकम नपाएको क्लबका पदाधिकारीको गुनासो छ ।
पुलिसका प्रशिक्षक अनन्त राज थापाले टिमले पाउनुपर्ने रकम अहिले सम्म नपाएको बताउँछन् । ‘हामीले विजेता भएपछि पाउनुपर्ने रकम पाएको छैनौँ ।’ उनले भने ।
उनको अनुसार आयोजक टिम सम्पर्कमा आउनै नचाहने बुझिएको छ ।
‘कहिले सम्पर्कमा आउँछन्, कहिले आउँदैनन् ।’ उनले बताए । ‘धेरै समय भइसकेको छ । पैसा अहिलेसम्म पाएका छैनौ ।’ उनि भन्छन् ।
उपविजेता टिम थ्री स्टारले पनि पुरस्कार रकम अहिलेसम्म पाएको छैन । क्लबका अध्यक्ष अरुणमान जोशीले अहिलेसम्म पुरस्कार वापतको रकम नपाएको बताएका छन् ।
उनी भन्छन्, ‘पुरस्कार रकम दिने कुरा आएको छ । तर दिएको छैन । दिन्छु भन्ने मात्रै कुरा आउँछ ।’
‘केही हप्ता अघिमात्र हामीसँग आयोजक सम्पर्कमा आएका थिए । हामीलाई क्लबको बैंक एकाउन्ट नम्बर दिन भनेका थिए । हामीले दिएका छौ, तर पैसा आएको छैन । कहिले सम्पर्कमा आउँछन्, कहिले आउँदैनन् ।’ उनले निराशा ब्यक्त गरे ।
यस्तै, खप्तड गोल्डकप खेल्न भनेर आयोजकले बोलाएको क्यामरुनको दाउफिन्स क्लब अहिले मोफसलका प्रतियोगितामा व्यस्त छ । अहिलेसम्म उसले पाँच उपाधि हात पारेको छ ।
उसले समेत मनकामना केवलकार पोखरा कपको पुरस्कार रकम अझैसम्म पाएको छैन ।
विजेता टिम दाउफिन्स र उपविजेता टिम एपीएफले पुरस्कार रकम अझै नपाएको गुनासो गरेका छन् ।
दाउफिन्स क्लबका नेपाल प्रतिनिधी सगुन तण्डुकारले अझै केहि रकम आउन बाँकी रहेको बतााए ।
‘उपविजेता भएबापत पाउनु पर्ने चार लाख ५ हजारमा तीन लाख पाएका छौ । तर झै १ लाख ५ हजार पाउन बाँकी छ ।’ उनले भने ।
पछिल्लो समय मोफसलका विभिन्न जिल्लामा गोल्डकपको संख्यामा उल्लेख्य वृद्वि भएको छ । तर केन्द्रिय तहबाट प्रतियोगिताको प्रभावकारी नियमन हुन नसक्दा फुटबल प्रतियोगिताले विकृतीको रुप लिन थालेको छ ।