काठमाडौं । नख्खु फुटसलले दोस्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
नेपाल खेलाडी तथा प्रशिक्षक संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नख्खुले दिलिप स्मृति प्रतिष्ठानलाई ५–३ गोलले पराजित गर्यो ।
नख्खुका रफी महर्जन र भुवन राउतले २–२ तथा अभय राणाले १ गोल गरे । प्रतिष्ठानबाट अनिल खड्का, दिपेन्द्र खत्री र अमुल लामाले गोल गरे ।
उपाधिसंगै नख्खुले ७५ हजार तथा प्रतिष्ठानले ५० हजार नगद पुरस्कार पाए ।
सामाखुशी फुटसलमा भएको प्रतियोगितामा नेपाल रोलबल संघले तेश्रो स्थानमा चित्त बुझायो । रोलबलले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागलाई टाइब्रेकरमा ३–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । रोलबलले २५ हजार नगद पुरस्कार हात पार्यो ।
प्रतिष्ठानका आशिष सोनाम उत्कृष्ट खेलाडी तथा नख्खुका अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा २१ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष महेश महर्जनले जनाए।