काठमाडौं । एमेच्योर खेलाडी सुवास तामाङले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा शुक्रबार ३ अण्डर ६५ स्कोर जोड्दै कुल ५ अण्डर २६७ स्कोरसहित सुवासले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा सुवासले साविकको विजेता भुवन नगरकोटीलाई एक स्ट्रोक्सले पछि पारे ।
यो उपाधिसंगै सुवास यस सिजन प्रोफेसनल उपाधि जित्ने दोस्रो खेलाडी बने । यस्तै १६ बर्षे सुवास सन् २००८ पछि सुर्य नेपाल गल्फ टुर जित्ने सबैभन्दा कान्छो खेलाडी बने । सुवासले एमेच्योरतर्फको उपाधि समेत पारे ।
भुवनले अन्तिम दिन १ अण्डर ६७ स्कोर जोडे । उपविजेता बनेपनि भुवनले प्रोफेसनलको शीर्ष स्थान हात पारेपछि ८४ हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको प्रोफेसनलतर्फ दोस्रो बनेका दिनेश प्रजापतिले ५३ हजार नगद प्राप्त गर्दा रामे मगर तेस्रो हुँदै ३७ हजार ५०० सय प्राप्त गरे ।
चौथो भएको विकास अधिकारीले २८ हजार प्राप्त गर्दा पाँचौ बनेका भुवन कुमार रोक्काले २४ हजार प्राप्त गरे ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।