लिभरपुलको जितमा इसाकको २ गोल

काठमाडौं– एलेक्जान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले नयाँ प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लिभरपुलले शुक्रबार इप्सविच टाउनलाई उसकै मैदानमा २–० ले हरायो।
इराओलाको नेतृत्वमा यसअघि न्युक्यासल युनाइटेड र नटिङ्घम फरेस्टविरुद्ध लिभरपुलले लगातार दुई खेल २–२ को बराबरीमा टुंग्याएको थियो। तर‚ इप्सविचविरुद्ध भने लिभरपुलले सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गर्यो।
इसाकले खेलको छैटौं मिनेटमा कोडी गाक्पोको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। पेनाल्टी क्षेत्रको दायाँ भागमा गाक्पोको पास नियन्त्रणमा लिएर उनले शक्तिशाली प्रहार गरेका थिए। उनको प्रहार इप्सविचका गोलरक्षक केयल स्केर्पेनलाई लाग्दै गोलमा परिणत भयो।
तीन मिनेटपछि नै इसाकले व्यक्तिगत दोस्रो गोल गरे। गाक्पोले डिफेन्डरहरूको पछाडि इसाकको दौडलाई लक्षित गर्दै बुटको बाहिरी भागबाट लामो पास दिए। इसाकले खुट्टा परिवर्तन गर्दै प्रहार गरेर बललाई जाली चुमाए।
गत सिजन एनफिल्डमा इसाकको पहिलो सिजन चोटका कारण प्रभावित भएको थियो। उनले २२ खेलमा चार गोल मात्र गरेका थिए। तर‚ यस सिजनको तेस्रो खेलमै उनको गोल संख्या तीन पुगेको छ।
इराओलाले इसाक फिट रहेर नियमित रूपमा खेल्न पाए उनले अपेक्षित गोल संख्या हासिल गर्ने विश्वास व्यक्त गरे। ‘एलेक्स फिट छन्, उपलब्ध छन् र राम्रो अवस्थामा छन् भने उनले अपेक्षित गोल संख्या निकाल्नेछन् भन्ने मलाई लाग्छ,’ इराओलाले भने।
उनले इसाकबाट गोल मात्र नभई टोलीको सामूहिक खेलमा योगदानको अपेक्षा रहेको बताए। ‘एलेक्ससँग मेरो माग सम्भवतः गोलमा मात्र केन्द्रित हुने छैन। हामी राम्रो खेल्न सकौं भनेर म उनीबाट अन्य कुराको पनि अपेक्षा गर्नेछु। हामी राम्रो खेल्यौं भने राम्रो अवस्थामा पुग्छौं र गोल आफैं आउनेछन्,’ इराओलाले भने।
उनले थपे,‘उनले टोलीको सामूहिक खेलमा योगदान दिनुपर्छ। सबैले एकअर्कालाई सहयोग गर्दा गोल र असिस्ट पनि आउनेछन्।’
यसै खेलमार्फत ब्राड्ली बार्कोलाले लिभरपुलका लागि डेब्यु गरे। पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट सोमबार लिभरपुल आएका बार्कोला ६३औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनको स्थानान्तरणका लागि लिभरपुलले १२ करोड ३० लाख पाउन्ड (करिब १६ करोड ६० लाख अमेरिकी डलर) खर्च गरेको बताइएको छ।
गत सिजनको अन्त्यमा प्रिमियर लिगमा बढुवा भएको इप्सविचले शीर्ष डिभिजनमा फर्किएपछि तीन खेलमा दुई हार र एक जित बेहोरेको छ।





-1788574492302.webp&w=3840&q=75)




-1788540913069.jpeg&w=3840&q=75)


