कराते टोली जापान लाग्यो
-1788540913069.jpeg&w=3840&q=75)
काठमाडौं। कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ।
जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षणरत रहने छ। टोली शुक्रबार जापान प्रस्थान गरेको छ। एसियाडमा नेपालबाट सहभागी हुने २२ खेल मध्ये जापान पुग्ने कराते टोली पहिलो हो।
टोकियोबाट कराते टोली एसियाडमा सहभागी हुन सेप्टेम्बर १७ तारिख नागोया पुग्ने छ। कराते सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुनेछ।
पुरुष ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ, ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्ने छन्। महिला ६८ केजीमाथि १९ औं एसियाडकी ऐतिहासिक रजत विजेता एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। सानुमायासहित एलिसा रास्कोटी र मेघा लिम्बूले टिम कातामा पनि सहभागिता जनाउने छन्।
प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ छन्। एसियाडको करातेपछि यही टोली जापानकै योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म विश्व सितोरियो कराते महासंघको आयोजनामा हुने ११ औं सितोरियो कराते अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुनेछ। एसियाली खेलकुदको फरक संस्करणमा नेपालले हालसम्म १ रजत र ३ कांस्य पदक जितेको छ।
ऐतिहासिक पदक विजेता एरिकाले एसियाली खेलकुद महत्वपूर्ण प्रतियोगिता भएको बताउदै उत्कृष्ट नतिजाका प्रयासरत रहने बताइन्।






-1786196245905.jpeg&w=3840&q=75)








