ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ। चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको उपाधि सिराहाको सलहेस युवा क्लबले जितेको छ।
शुक्रबार सम्पन्न खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेसले उपाधि रक्षा गरेको हो।
उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख ५२ हजार ८३ रुपैयाँमा चित्त बुझायो।
सलहेस सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब, कालिम्पोङलाई २–० ले हराउँदै फाइनल पुगेको थियो भने फिदिमले झापा–११ लाई १–० ले पराजित गर्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो।
दोस्रो संस्करणदेखि लगातार फाइनल खेल्दै आएको सलहेसले गत वर्ष चर्च बोइज क्लब ललितपुरलाई २–० ले हराएर जितेको उपाधि यस वर्ष पनि जोगाउन सफल भएको हो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फिदिमका अनुकेश शेर्मा घोषित भए। उनले मोटरसाइकल प्राप्त गरे।
फाइनलमा सलहेसका सनिस श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। सलहेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अविषेक लिम्बू उत्कृष्ट डिफेन्डर र सुशील यादव उत्कृष्ट मिडफिल्डर बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए। विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्।









-1788574492302.webp&w=3840&q=75)


