काठमाडौं । रामे मगरले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको तेस्रो दिनको खेलमा अग्रता बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहिबार ५ अण्डर ६३ स्कोर जोड्दै कुल ५ अण्डर १९९ स्कोरसहित रामेले शीर्ष स्थान कब्जा गरेका हुन् । रामेले भुवन नगरकोटीमाथि दुई स्ट्रोकको अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रहेका भुवनले बिहिबार ५ अण्डर ६३ स्कोर बनाए ।
यस्तै शुबास तामाङ तेस्रो, भुवन कुमार रोक्का चौथो र विकास अधिकारी पाँचौ स्थानमा रहेका छन् ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले ८४ हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५३ हजार र तेस्रोले ३७ हजार प्राप्त गर्ने छन् । त्यसबाहेक शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पाउने छन् ।