दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

काठमाडौं। नेपाली राष्ट्रिय टी–२० आई टोलीका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी २७ वर्षमा प्रवेश गरेका छन्।
जन्मदिनको अवसरमा उनलाई शुभकामना दिनेको ओइरो लागेको छ। यसैबीच, उनकी प्रेमिका आयशा दिव्या कोइरालाले पनि सामाजिक सञ्जालमार्फत दीपेन्द्रलाई जन्मदिनको शुभकामना दिएकी छन्।
आयशाले आफ्नो इन्स्टाग्राममा आफू र दीपेन्द्रको तस्बिर सार्वजनिक गर्दै उनलाई शुभकामना दिएकी हुन्। ‘हग’ गरेको उक्त तस्बिरमा आयशाले आफ्नो अनुहार भने देखाएकी छैनन्। हाँसिरहेको दीपेन्द्रको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘माई म्यान अफ द म्याच फर लाइफ। हेप्पी बड्डे।’

सन् २०१७ मा केन्याविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका दीपेन्द्रले यसै वर्ष रोहितकुमार पौडेललाई प्रतिस्थापन गर्दै टी–२० आई टोलीको कप्तानी सम्हालेका हुन्। उनले हालसम्म दुई टी–२० आई विश्वकप र एक एसिया कप खेलिसकेका छन्।
दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा १ हजार ६८५ रन तथा टी–२० अन्तर्राष्ट्रियमा २ हजार २२० रन बनाएका छन्।
सन् २०२३ मा चीनको हाङझाउमा आयोजित एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धको खेलमा उनले मात्र ९ बलमा अर्धशतक पूरा गर्दै टी–२० आई क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरेका थिए।
त्यस्तै, सन् २०२४ मा कतारविरुद्धको खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै दीपेन्द्रले टी–२० आई क्रिकेटमा अर्को दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।
यतिबेला नेपाली राष्ट्रिय टोली एसीसी प्रिमियर कपको तयारीमा व्यस्त छ। यहीबीच परेको दीपेन्द्रको जन्मदिन र उनकी प्रेमिका आयशाले दिएको विशेष शुभकामनाले सामाजिक सञ्जालमा समेत चर्चा बटुलिरहेको छ।
आयशाको पोस्टपछि उनीहरूको सम्बन्धलाई लिएर क्रिकेट समर्थकमाझ विभिन्न प्रतिक्रिया र चासोसमेत देखिएको छ।





-1786377986381.jpeg&w=3840&q=75)





-1786589752324.webp&w=3840&q=75)


-1786544975326.webp&w=3840&q=75)