क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा
काठमाडौं। एपीएफका क्षितिज खनाल, पिस फिटनेश क्लबका विष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन लिनिङ चौधौं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन्।
समूह ‘ए’ को लिग खेलमा क्षितिजले दोस्रो जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। क्षितिजले मंगलबार भएको लिगको दोस्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ को जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।
क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर एक तथा पूर्वविश्व जुनियर शीर्ष खेलाडी प्रिन्स दाहाललाई पराजित गरेका थिए। यस्तै दोस्रो खेलमा एपीएफका प्रिन्स दाहालले पुलिका सुनिल जोशीमाथि २१–१४, २१–१९ को जित निकाले। यस समूहमा प्रिन्स र सुनिल जोशीको एक/एक जित भएको छ। सेट जितको आधारमा प्रिन्स सुनिलभन्दा अगाडी छन्। सुनिलले पनि आफ्नो पहिलो खेलमा पुलिसकै जीवन आचार्यमाथि जित निकालेका थिए।
यस्तै‚ पुरुषकै समूह ‘बी’को दोस्रो खेलमा आआफ्नो प्रतिद्वन्दीमाथि जित हात पार्दै विष्णु कटुवाल र प्रफुल महर्जनले पनि सेमिफाइनलमा स्थान पक्का गरेका छन्। दोस्रो खेलमा विष्णुले पुलिसका दीपक बोहरामाथि २१–१७, २१–१७ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। यसैगरी प्रफुलले पनि एपीएफका देवराज रानामाथि २१–१९, ११–२१, २१–१९ को कठिन जित हात पार्दै दुई जितका साथ सेमिफाइनलमा स्थान बनाएका हुन्।
प्रफुल सेट जितका आधारमा दोस्रो स्थानमा छन्। यद्यपि‚ समूह विजेता/उपविजेतको टुंगो भने शुक्रबार हुने लिगको अन्तिम खेलबाट हुनेछ। नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका महिला शीर्ष ८ तर्फका लिगमा समूह ‘बी’ बाट तीनमा दुई खेलमा जित हात पार्दै एपीएफकी रिहाना शेरचन र पुलिसकी नीता लम्सालले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
सेट जितका आधारमा शेरचनले नीतालाई पछाडी पारेकी छिन्। समूह विजेता तथा उपविजेताको छिनोफानो भोलि हुने प्रतिस्पर्धाबाट हुनेछ। समूह ‘ए’को खेलमा भने नेपाल नम्बर एक नेपाल आर्मीकी रसिला महर्जन र पुलिसकी शेस्ना श्रेपालीको एक एक जितका साथ अग्र स्थानमा छन्। उक्त समूहको सेमिफाइनलमा स्थानको छिनोफानो शुक्रबार हुने लिगको अन्तिम खेलपश्चात् हुने भएको छ। आज भएको लिगको खेलमा शेस्नाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–११, २१–१३ ले पराजित गरेकी हुन्। यस्तै‚ रसिलाले आफ्नो पहिलो खेलमा शेस्नालाई पराजित गर्दै एक जित हात पारेकी थिइन्।











-1786501128320.webp&w=3840&q=75)


-1786458313460.webp&w=3840&q=75)