विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

समर सिजन स्पेनिस स्टार लामिन यमलका लागि निकै विशेष रह्यो। १९ वर्षको उमेरमै उनले अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च सफलता अर्थात् विश्वकपको उपाधि जिते।
विश्वकप चलिरहेकै बेला गत १३ जुलाईमा १९ वर्ष पूरा गरेका यमलले त्यतिबेला सामान्य रूपमा जन्मदिन मनाएका थिए। तर‚ करिब एक महिनापछि उनले भव्य पार्टी आयोजना गरेका छन्।
स्पेनिस सञ्चारमाध्यम ‘एल एस्पान्योल’लाई उद्धृत गर्दै ‘मुन्डो डेपोर्टिभो’ले जनाएअनुसार यमलले बार्सिलोनानजिकैको भिलानोभा डेल भायेस क्षेत्रमा रहेको ऐतिहासिक तथा आकर्षक कन्ट्री हाउस ‘मास देस सेन्ट लेइ’मा पार्टी आयोजना गरेका थिए। कार्यक्रममा उनका केही क्लब सहकर्मीसहित १०० भन्दा बढी पाहुना सहभागी थिए।
एक वर्षअघि यमलले आफ्नो १८औं जन्मदिन पनि निकै भव्य रूपमा मनाएका थिए। त्यस कार्यक्रममा २०० भन्दा बढी पाहुना सहभागी थिए। त्यहाँ उनकी पूर्वप्रेमिका निको निकोल, स्पेनका केही चर्चित संगीतकर्मी तथा बार्सिलोनाका तत्कालीन खेलाडी रोबर्ट लेवान्डोव्स्की र गाभीसमेत उपस्थित थिए। यद्यपि, मनोरञ्जनका लागि बौनाहरूलाई बोलाइएको विषयमा यमल अनुसन्धानको सामना गर्नुपरेको थियो।
विश्वकपको उपाधिपछि यमलले गत १९ जुलाईदेखि बिदा मनाइरहेका छन्। उनी बिहीबार बार्सिलोनाको टोलीमा फर्किने अपेक्षा गरिएको छ। ‘मुन्डो डेपोर्टिभो’का अनुसार विश्वकपपछि क्लबमा फर्किने खेलाडीमध्ये यमल अन्तिमतिरका एक हुनेछन्।
सोही दिन विश्वकप विजेता स्पेनिस टोलीका पाउ कुबार्सी, पेड्री, डानी ओल्मो र फेरान टोरेस पनि क्याटलान क्लबको प्रशिक्षणमा फर्किनेछन्। यसअघि नै गाभी, एरिक गार्सिया र जुआन गार्सियाले बिदा छोट्याएर टोलीसँग प्रशिक्षण सुरु गरिसकेका छन्। नयाँ खेलाडीका रूपमा इंग्ल्यान्डका एन्थोनी गोर्डन पनि छिट्टै बिदा सकाएर नयाँ क्लबमा प्रशिक्षणमा सहभागी भइरहेका छन्।







-1786501128320.webp&w=3840&q=75)



-1786458313460.webp&w=3840&q=75)