यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

काठमाडौं। विश्वकप फाइनलको ठीक तीन सातापछि नयाँ युरोपेली फुटबल सिजनको पहिलो उपाधिका लागि पेरिस सेन्ट–जर्मेन (पीएसजी) र एस्टन भिल्ला आमनेसामने हुँदैछन्।
यूईएफए सुपर कपअन्तर्गत च्याम्पियन्स लिग विजेता पीएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबीचको खेल साल्जबर्गस्थित रेड बुल एरेनामा हुनेछ। पीएसजीको लक्ष्य आधुनिक युगमा लगातार दुईपटक सुपर कप जित्ने दोस्रो टोली बन्ने हो।
यसअघि रियल मड्रिडले सन् २०१६ र २०१७ मा लगातार दुईपटक यो उपाधि जितेको थियो। गत वर्ष पीएसजीले पेनाल्टी सुटआउटमा टोटनहमलाई पराजित गर्दै सुपर कप जितेको थियो। गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि यी दुई टोली भिडेका थिए।
दोस्रो लेगमा एस्टन भिल्लाले ३–२ को जित निकाले पनि पहिलो लेग ३–१ ले जितेको पीएसजी समग्रमा विजयी हुँदै अर्को चरणमा पुगेको थियो। पीएसजीसँग लगातार दोस्रो सुपर कप जित्ने अवसरसँगै क्लबको इतिहासमा नयाँ कीर्तिमान बनाउने मौका पनि छ।
यसअघि आयाक्स, एसी मिलान र रियलले मात्र लगातार दुईपटक यूईएफए सुपर कप जितेका छन्। यो खेल जितेमा पीएसजीका प्रशिक्षक लुइस एनरिकेले आफ्नो प्रशिक्षकीय करिअरमा १३औं उपाधि हात पार्नेछन्। एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीले भने यसअघि खेलेका तीनवटै सुपर कप खेलमा हार बेहोरेका छन्। एनरिकेले भने आफ्ना दुई सुपर कपमध्ये दुवै जितेका छन्।
एस्टन भिल्लाका लागि यो दोस्रोपटक सुपर कप खेल्ने अवसर हो। सन् १९८३ मा पहिलोपटक सुपर कप खेलेको भिल्लाले बार्सिलोनालाई ३–१ ले हराएको थियो। पीएसजी भने तेस्रोपटक सुपर कपको मैदानमा उत्रिँदैछ। सन् १९९७ मा युभेन्ट्ससँग ९–२ को फराकिलो अन्तरले पराजित भएको पीएसजीले गत वर्ष पेनाल्टी सुटआउटमार्फत उपाधि जितेको थियो।
यस खेलमा सोमालियाका रेफ्री ओमर आर्टान पनि विशेष चर्चामा छन्। विश्वकपमा रेफ्रीको जिम्मेवारी पाएका आर्टानलाई आतंकवादी समूहसँग सम्बन्ध रहेको आशंकामा अमेरिकाले विमानस्थलबाटै फर्काएको घटनाले विवाद सिर्जना गरेको थियो। त्यसपछि यूईएफएले उनलाई सुपर कपको जिम्मेवारी दिएको हो। आर्टान यूईएफएको कुनै खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्नेछन्।






-1786501128320.webp&w=3840&q=75)



-1786458313460.webp&w=3840&q=75)

