काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमलाई पहिलो पटक उपाधि भित्राउने मौका रहेको छ । भारतको उडिसास्थित भुवनेश्वरमा जारी हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपाली टिम अाज (शुक्रबार) म्यानमारविरुद्ध खेल्ने छ ।
कालिंङ्गा रंगशालामा शुक्रबार नेपाली समय अनुसार सवाँ ६ बजे नेपाल र म्यानमारले उपाधिका लागि भिड्नेछ ।
यसअघि दक्षिण एसियामा सधै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समुह चरणमै पराजित गरेपछि नेपालले पहिलो पटक उपाधिका लागि नयाँ प्रतिद्वन्दि पाएको हो ।
तर यसअघिको भेटमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टिमलाई उद्घाटन खेलमा ब्यहोरेको हारको बदला लिने सुवर्ण अवसर रहेको छ ।
यस्तै सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोट अन्तर्गत गत नोभेम्बरमा भएको एसियन छनोटमा म्यानमार र नेपालले एक एकको बराबरी खेलेका थिए ।
हाल विश्व वरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यानमार ४४ औँ स्थानमा रहेको छ ।
म्यानमार प्रतियोगिताको अपराजित टिम हो । यसअघि उसले नेपाल सहित आयोजक भारत र इरानलाई पराजित गरेको थियो ।
पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भारत र तेस्रो खेलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
यसअघि नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिप फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा साग गेम्समा पनि नेपाल भारतसँगनै फाइनलमा हार्न पुगेको थियो ।