एन्सेलोटीले मुहार फेर्दिएको ब्राजिली फुटबल

पाँच पटकको विश्वकप विजेता ब्राजिललाई विश्व फुटबलको सबैभन्दा सफल टोलीमध्ये एक मानिन्छ। यो टोलीबाट हरेक प्रतियोगितामा उपाधिको अपेक्षा गरिन्छ।
तर‚ पछिल्ला दुई दशकमा ब्राजिलले विश्वकप उपाधि जित्न सकेको छैन। एक समय ‘फुटबलको स्वर्ग’ भनेर चिनिने ब्राजिल अहिले आफ्नो हराएको गौरव फर्काउने अभियानमा छ।
यही उद्देश्यका साथ ब्राजिल फुटबल महासंघले पहिलोपटक परम्परा तोड्दै विदेशी प्रशिक्षक कार्लो एन्सेलोटीलाई टोलीको जिम्मेवारी दिएको थियो।

रियल मड्रिडका पूर्व प्रशिक्षक एन्सेलोटीको नेतृत्वमा ब्राजिल अहिले छैटौं विश्वकप उपाधिको सपना देखिरहेको छ। ब्राजिलले नकआउट चरणको यात्रा एसियाली ‘पावर हाउस’ जापानविरुद्धको खेलबाट सुरु गर्दैछ। यो खेल ब्राजिलका लागि अर्को चरणमा पुग्ने अवसर मात्र होइन, गत वर्ष जापानसँग भोगेको हारको बदला लिने अवसर पनि हुनेछ।
साथै एन्सेलोटीको नेतृत्वमा टोली कति परिपक्व बनेको छ भन्ने प्रमाणित गर्ने महत्त्वपूर्ण परीक्षा पनि हुनेछ। सन् २०२५ को अक्टोबरमा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २–० को अग्रता जोगाउन नसक्दा जापानसँग ३–२ ले पराजित भएको थियो। ब्राजिलविरुद्ध १४ खेलपछि जापानले पहिलो पटक जित निकालेको त्यो ऐतिहासिक खेल थियो।

एन्सेलोटीले ब्राजिलको जिम्मेवारी सम्हाल्दा टोली निकै कठिन अवस्थामा थियो। दक्षिण अमेरिकी छनोटमा चार फरक प्रशिक्षकको नेतृत्वमा खेल्दै ब्राजिल पाँचौं स्थानमा सीमित भएको थियो, जुन टोलीको इतिहासकै कमजोर प्रदर्शनमध्ये एक थियो। सीमित समयमै टोलीलाई पुनर्गठन गर्दै विश्वकप दाबेदार बनाउनु एन्सेलोटीका लागि ठूलो चुनौती बनेको थियो।

विश्वकपका लागि अन्तिम टोली छनोट गर्नुअघि उनले पाँच अन्तर्राष्ट्रिय ‘विन्डो’ मात्र पाए। त्यस अवधिमा एसिया, युरोप र अफ्रिकाका विभिन्न टोलीसँग खेलाएर उनले खेलाडीहरूलाई फरक शैलीको फुटबलमा अभ्यस्त बनाउने प्रयास गरे।
यद्यपि‚ अहिलेको ब्राजिल टोली पहिलेको भन्दा धेरै आत्मविश्वासी देखिएको छ। विश्वकपको पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेले पनि त्यसपछि हाइटी र स्कटल्यान्डलाई समान ३–० ले हराउँदै टोलीले उत्कृष्ट लय समातेको छ। भिनिसियस जुनियरले तीन खेलमा चार गोल गरेका छन् भने लामो चोटपछि नेयमार पनि राष्ट्रिय टोलीमा फर्किएका छन्।
जापानले भने समूह चरणमा स्विडेनसँग १–१ को बराबरी खेल्दै समूह उपविजेताका रूपमा नकआउटमा स्थान बनाएको हो। टोलीका प्रशिक्षक हाजिमे मोरियासुले ब्राजिलविरुद्ध कठिन चुनौती हुने स्वीकार गरेका छन्। उनले भने,‘अघिल्लो जितका कारण ब्राजिल यसपटक अझ बढी प्रेरित हुनेछ। हामी जित्नका लागि निकै भोकाएको टोलीसँग खेल्दैछौं।’

जापानले यसपटक केही महत्त्वपूर्ण खेलाडीको साथ पाउने छैन। चोटका कारण कप्तान वातारु एन्डो, काओरु मितोमा, ताकेफुसा कुबो र ताकुमी मिनामिनो टोलीबाहिर छन्। नकआउट चरणअघि एन्सेलोटीले आफ्नो टोली अतिरिक्त समय र पेनाल्टी सुटआउटसम्मका सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताएका छन्।
उनले भने,‘नकआउट चरणमा एउटा सानो गल्तीले पनि प्रतियोगिता समाप्त हुन सक्छ। त्यसैले हामी अतिरिक्त समयदेखि पेनाल्टीसम्म सबै पक्षमा तयारी गरेका छौं। यस्ता खेलमा खुट्टा होइन, दिमाग र मन दुवै बलियो हुनुपर्छ।’
एन्सेलोटीको आगमनसँगै ब्राजिलको खेलशैलीमा पनि उल्लेखनीय परिवर्तन आएको छ। टोली अब आफ्नै क्षेत्रमा रक्षात्मक खेल खेल्नुको सट्टा विपक्षीको क्षेत्रमा उच्च दबाब (हाइ प्रेसिङ) सिर्जना गर्छ। विपक्षीबाट बल खोसेर तुरुन्तै आक्रमण गर्ने रणनीति अहिले ब्राजिलको सबैभन्दा प्रभावकारी हतियार बनेको छ।

एन्सेलोटीको नेतृत्वमा ब्राजिलले गरेका ३३ मध्ये ८ गोल विपक्षीको क्षेत्रमा बल पुनः प्राप्त गरेपछि आएका छन्। स्कटल्यान्डविरुद्धको ३–० को जितमा पनि यही रणनीति स्पष्ट रूपमा देखिएको थियो।
ब्राजिल र जापानबीचको प्रतिस्पर्धाको पछाडि ऐतिहासिक सम्बन्ध पनि छ। जापानी फुटबलको विकासमा ब्राजिलका महान् खेलाडी जिकोको महत्त्वपूर्ण योगदान छ। उनले सन् १९९१ देखि १९९४ सम्म जापानको सुमितोमो मेटल (हाल कासिमा एन्टलर्स) क्लबबाट खेलेर त्यहाँको व्यावसायिक फुटबलको आधार निर्माणमा सहयोग गरेका थिए।
पछि उनी कासिमा एन्टलर्सका प्रशिक्षक बने भने सन् २००२ देखि २००६ सम्म जापान राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हाले। उनको नेतृत्वमा जापानले २००४ को एसियन कप जितेको थियो र २००६ विश्वकपमा स्थान बनाएको थियो। तर‚ त्यही विश्वकपको समूह चरणमा ब्राजिलले जापानलाई ४–१ ले पराजित गर्दै प्रतियोगिताबाट घर पठाएको थियो।






-1787237075513.webp&w=3840&q=75)








