चेल्सीको नम्बर ९ जर्सीलाई पेड्रोले न्याय गर्न सक्लान् ?

ब्राजिलियन स्ट्राइकर जोआओ पेड्रोले इङ्लिस क्लब चेल्सीसँग सन् २०३४ सम्म रहने गरी नयाँ सम्झौता गरेका छन्।
उनले क्लबको चर्चित तर धेरै स्ट्राइकरका लागि चुनौतीपूर्ण मानिएको नम्बर ९ जर्सी पनि लगाउने भएका छन्। पेड्रोले एक वर्षअघि ब्राइटनबाट चेल्सी आएपछि गरेको सम्झौता सन् २०३२ सम्मको थियो।
यसमा थप एक वर्ष बढाउन सकिने विकल्प पनि थियो। शनिबार घोषणा गरिएको नयाँ सम्झौता सुधारिएको पारिश्रमिकसहित थियो। चेल्सीमा आफ्नो पहिलो सिजनमा २० गोल गर्दै प्रभावशाली प्रदर्शन गरेपछि क्लबले पेड्रोलाई दीर्घकालीन रूपमा जोड्ने निर्णय गरेको हो।
पेड्रोले भने,‘ठूलो क्लबका लागि खेल्ने मेरो सधैं सपना थियो। यो क्लबप्रति दीर्घकालीन प्रतिबद्धता जनाउन पाउँदा मेरो लागि धेरै अर्थ राख्छ। चेल्सीको जितको लामो परम्परा छ र भविष्यका लागि ठूलो महत्वाकांक्षा पनि छ।’
२४ वर्षीय पेड्रो यस समरमा हुने विश्वकपका लागि ब्राजिलको टोलीमा भने अप्रत्याशित रूपमा पर्न सकेनन्। नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा पेड्रो आगामी सिजन चेल्सीका पहिलो रोजाइका स्ट्राइकरका रूपमा मैदानमा उत्रने सम्भावना छ।
लियाम डेलाप र निकोलस ज्याक्सनलाई भने क्लबले ट्रान्सफरका लागि उपलब्ध गराएको छ। जुलाईमा ब्राइटनबाट चेल्सी आएका ड्यानी वेलबेक पनि टोलीमा स्थान बनाउन प्रतिस्पर्धामा छन्। चेल्सीले सोमबार फुलहमविरुद्ध ‘अवे’ खेलबाट नयाँ प्रिमियर लिग सिजन सुरु गर्नेछ।
पेड्रोले डेलापले छाडेको नम्बर ९ जर्सी लगाउनेछन्। यो जर्सी चेल्सीमा लामो समयसम्म प्रभाव जमाउन धेरै स्ट्राइकरका लागि कठिन साबित भएको इतिहास छ।
जिमी फ्लोयड ह्यासलबैंकले उत्कृष्ट रूपमा प्रयोग गरेपछि १३ खेलाडीले चेल्सीको नम्बर ९ जर्सीमा लामो समयसम्म उल्लेखनीय प्रभाव पार्न सकेका छैनन्। तीमध्ये क्लबको कीर्तिमानी मूल्यमा फर्नान्डो टोरेस र डच डिफेन्डर खालिद बौलाहरुज पनि पर्छन्।
त्यसैले चेल्सीमा नम्बर ९ जर्सीलाई कहिलेकाहीँ ‘खालिद बौलाहरुजको श्राप’ समेत भन्ने गरिएको छ। अब पेड्रोले यो जर्सीको इतिहास बदल्दै टोलीलाई थप सफलता दिलाउने चुनौती सामना गर्नेछन्।





-1787446454488.webp&w=3840&q=75)

-1787406623559.webp&w=3840&q=75)


-1787414009919.jpeg&w=3840&q=75)

