नेपालको कमजोर ब्याटिङ

काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको छ। बंगलादेश हाई पर्फर्मेन्स टोलीविरुद्ध नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सकेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुआतमै लगातार विकेट गुमाएपछि ठूलो स्कोर बनाउन सकेन। एक समय नेपाल १० रनमै ४ विकेट गुमाएर दबाबमा परेको थियो।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए। उनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरे।
शाहब आलमले २३ बलमा ११ रन, रिजान ढकालले १४ बलमा १० रन तथा विपिन खत्रीले अविजित ११ रन बनाए। आकाश चन्दले १३ बलमा ५ रन जोडे।
नेपालका अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्। त्रितराज दास ६, कप्तान अनिल साह शून्य, पवन सर्राफ शून्य, कुशल मल्ल १, लोकेश बम २ र नारायण जोशी १ रनमा आउट भए।
बंगलादेशका एमडी रुबेल नेपालका लागि सबैभन्दा घातक बलर बने। उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। रोहनत दौलाह बोर्सन, रिपोन मन्डोल र सामिउन बासिरले समान एक–एक विकेट लिए।
नेपाल आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको थियो। त्यस खेलमा पनि नेपालले १२२ रन मात्र बनाउन सकेको थियो।












