पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

काठमाडौं। पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई–स्पोर्ट्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्नेछन्। पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन्। लोकप्रिय टोली होरा ई–स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताको कुल पुरस्कार रकम १ हजार अमेरिकी डलर रहेको छ। यस अन्तर्गत विजेताले ४ सय अमेरिकी डलर, उपविजेताले २ सय ५० डलर र तेस्रो हुने टोलीले १ सय ५० डलर पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, चौथो स्थानमा रहने टोलीले १ सय २० डलर र पाँचौं स्थानमा रहने टोलीले ८० अमेरिकी डलर प्राप्त गर्नेछन्। साथै, शीर्ष १२ टोलीहरू '२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप - साउथ एसिया फल' का लागि छनोट हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा गीत संगीत, फुड स्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहनेछ।
दुई–दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालको पब्जी मोबाइल तथा समग्र ई–स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई–राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।





-1787319995169.jpeg&w=3840&q=75)
-1787235818152.jpeg&w=3840&q=75)




-1787313945913.jpeg&w=3840&q=75)


