नेपालको खराब सुरुआत

काठमाडौं। नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा खराब सुरुआत गरेको छ।
शुक्रबार सम्पन्न पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य नर्दन टेरिटोरीले १५ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। नर्दन टेरिटोरीका डाउट्जी हुगेनबोजमले अविजित ५० रन बनाए। उनले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै‚ जोर्डन सिल्कले २८ बलमा २ चौका र २ छक्कासहित अविजित ४२ रन बनाए। डार्सी शर्टले १८ बलमा ३ चौका र १ छक्कासहित २३ रन तथा जागा कोडुरुले ७ बलमा २ चौकासहित ८ रन बनाए।
नेपालका पवन सर्राफले दुई विकेट लिए। त्यसअघि डार्विनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो।
नेपालले सुरुआतमै विकेट गुमाए पनि पवनको संयमित ब्याटिङमा सम्मानजनक योगफल खडा गरेको थियो। पवनले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै‚ लोकेश बमले १६ रन, नारायण जोशीले ८ बलमा १५ रन तथा कप्तान अनिल साहले ९ बलमा १४ रन बनाए। त्रितराज दासले ९ बलमा १३ रन जोडे।
कुशल मल्लले १५ बलमा ९ रन मात्र बनाउन सके भने राशिद खानले ११ बलमा १० रन बनाए। ओपनर कुशल भुर्तेल भने ५ बल सामना गर्दै शून्य रनमै आउट भए।
नेपालले ३० रनमै दोस्रो र तेस्रो विकेट गुमाएको थियो। त्यसपछि पवन सर्राफ र लोकेश बमले केही समय इनिङ्स सम्हाले पनि नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो। अन्तिम ओभरतिर नारायणले आक्रामक ब्याटिङ गर्दै नेपाललाई १२० रनको आँकडा पार गराए।
नर्दन टेरिटोरी स्ट्राइकका हामिस मार्टिन प्रभावकारी बलर बने। उनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। डार्सी सर्ट‚ टम मेन्जिस, साम बार्कर र विलियम ब्लेयरले समान १ विकेट लिए।









-1787313945913.jpeg&w=3840&q=75)



-1787239351737.webp&w=3840&q=75)