साफ च्याम्पियनसिपमा पहिलोपटक भीएआर प्रयोग हुने

काठमाडौं। आगामी साफ च्याम्पियनसिपलाई थप आधुनिक र आकर्षक बनाउने तयारी भइरहेको छ।
बंगलादेशको राजधानी ढाकामा आगामी ४ देखि १७ नोभेम्बरसम्म आयोजना हुने प्रतियोगितामा पहिलोपटक भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि प्रयोग गर्ने तयारी गरिएको छ।
दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले बिहीबार भीएआर प्रयोगका लागि प्राविधिक मूल्यांकन भइरहेको जानकारी दिए। ‘दक्षिण एसियाली क्षेत्रमा हामी पहिलो पटक भीएआर प्रविधि प्रयोग गर्दैछौं,’ उनले भने, ‘सबै खेलमा यो प्रणाली प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर प्राविधिक मूल्यांकन भइरहेको छ। भीएआरको प्रयोगले प्रतियोगिताको स्तर र विश्वसनीयता थप बढाउनेछ।’
साफले गत जुलाईमा प्रतियोगिताको लोगो सार्वजनिक गरिसकेको छ। अब अक्टोबरमा नयाँ डिजाइनको ट्रफी सार्वजनिक गर्ने तयारी गरिएको छ। प्रतियोगिताका क्रममा दर्शकलाई आकर्षित गर्न थप मनोरञ्जनात्मक कार्यक्रम र रंगशालाभित्र विभिन्न गतिविधि सञ्चालन गर्ने योजना पनि बनाइएको छ।
यसैबीच, साफले प्रतियोगिताको अन्तर्राष्ट्रिय स्तर र प्रभाव बढाउन विश्व फुटबल महासंघसँग पनि छलफल गरिरहेको छ। भविष्यमा ‘फिफा साफ कप’ आयोजना गर्ने योजनाबारे फिफासँग कुराकानी भइरहेको महासचिव कट्टेलले बताए। ‘यस विषयमा फिफासँग पनि छलफल भइरहेको छ। तर‚अहिलेसम्म औपचारिक रूपमा तय भइसकेको छैन। सम्भवतः अर्को च्याम्पियनसिपमा तपाईंहरूले यसलाई त्यही स्वरूपमा देख्न सक्नुहुन्छ,’ उनले भने।
प्रतियोगिताको पूर्ण खेल तालिका आगामी साता सार्वजनिक हुने अपेक्षा गरिएको छ। टिकटको मूल्य र पुरस्कार रकम भने अझै अन्तिम चरणमा पुगेका छैनन्। प्रतियोगिता सञ्चालनका लागि बंगलादेश फुटबल महासंघले व्यवस्थापन, स्वास्थ्य सेवा तथा सुरक्षा व्यवस्थामा सहयोग गर्नेछ।













-1787319995169.jpeg&w=3840&q=75)
-1787313945913.jpeg&w=3840&q=75)