हलको सानदार पुनरागमन, युनाइटेड पराजित
-1787406623559.webp&w=3840&q=75)
काठमाडौं। ९ वर्षपछि प्रिमियर लिगमा फर्किएको हल सिटीले शनिबार म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्दै सानदार पुनरागमन गरेको छ।
यस हारसँगै २० पटकको इङ्लिस च्याम्पियन युनाइटेडको प्रि–सिजनमा देखिएको आशावादमा धक्का लागेको छ।
हलका सेमी अजायी र नोबेल मेन्डीले पहिलो हाफमै गोल गरे। दुवै गोल सेट–पिसबाट आएका थिए। गत सिजन च्याम्पियनसिप प्लेअफमार्फत प्रिमियर लिगमा बढुवा भएको हललाई यस सिजन रेलिगेसनको मुख्य दाबेदारमध्ये एक मानिएको छ। तर, उसले युनाइटेडविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै सिजनको सुरुआत गरेको छ।
गत सिजन प्रिमियर लिगमा तेस्रो स्थान हासिल गर्दै युनाइटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो। त्यसपछि अन्तरिम प्रशिक्षक माइकल क्यारिकलाई स्थायी जिम्मेवारी दिइनुका साथै टोलीको मिडफिल्ड बलियो बनाउन युरी टिलेमान्स र आन्द्रे सान्तोसलाई भित्र्याइएको थियो।
बार्सिलोनामा लोनमा बिताएको समयपछि मार्कस रासफोर्ड पनि युनाइटेडमा फर्किएका छन्। उनी हलविरुद्ध दोस्रो हाफको सुरुआतमा मैदान प्रवेश गरे। तर, रासफोर्डसहित युनाइटेडका अन्य खेलाडीले पनि अपेक्षाअनुसार प्रभाव पार्न सकेनन्।
समग्रमा युनाइटेडको प्रदर्शन निकै फितलो रह्यो। सन् २०१३ मा एलेक्स फर्गुसनको नेतृत्वमा अन्तिम पटक प्रिमियर लिग उपाधि जितेको युनाइटेडले आफ्नो पुरानो साख फर्काउन अझै धेरै काम गर्नुपर्ने संकेत यस खेलले दिएको छ। कम्तीमा शनिबारको प्रदर्शनका आधारमा टोलीलाई उपाधिको मुख्य दाबेदारका रूपमा हेर्न कठिन देखिएको छ।
शनिबार अब थप चार खेल हुँदैछन्। तीमध्ये ठूलो लगानी गरेको टोटेनहमले ब्रेन्टफोर्डको सामना गर्नेछ भने अर्को नवप्रवेशी टोली इप्सविचले आफ्नै मैदानमा सन्डरल्यान्डसँग खेल्नेछ।
यसअघि शुक्रबार आर्सनलले गत सिजनको च्याम्पियनसिप विजेता कोभेन्ट्रीलाई ३–० ले हराउँदै आफ्नो उपाधि रक्षा अभियानको सानदार सुरुआत गरेको थियो।













