रोनाल्डोमाथि प्रश्न
-1781590934361.webp&w=3840&q=75)
सन् २०२२ को विश्वकप सुरु हुनुअघि पोर्चुगल टोलीमा निर्विवाद ‘लिडर’ क्रिस्टियानो रोनाल्डोबाहेक अरू कसैलाई कल्पना गर्न गाह्रो थियो। तर, कतार विश्वकप र त्यसपछिका केही वर्षमा उनको राष्ट्रिय टोलीमा भूमिका र प्रभावबारे बहस सुरु गरिदिएको छ।
कतार विश्वकपमा पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले समूह चरणमा पेनाल्टीमार्फत एक गोल मात्र गर्न सकेका थिए।
दक्षिण कोरियाविरुद्ध बेञ्चबाट सुरुआत गर्नुपरेपछि उनले असन्तुष्टि जनाए। त्यसपछि स्विट्जरल्यान्डविरुद्धको नकआउट खेलमा बेन्चमा बस्न बाध्य भए।
-1781590954800.webp)
त्यसपछि २०२४ को युरोपियन च्याम्पियनसिपमा उनले एक गोल पनि गर्न सकेनन्। कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको यो उनको करिअरमा पहिलो पटक थियो।
अब सम्भावित अन्तिम विश्वकप खेलिरहेका ४१ वर्षीय रोनाल्डोले पोर्चुगललाई अझै कति योगदान दिन सक्छन् भन्ने विषय समर्थकमाझ मुख्य बहस बनेको छ। पोर्चुगलले बुधबार ह्युस्टनमा कंगोविरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्दैछ।
केही समर्थकहरू टोली रोनाल्डोबिनै अझ राम्रो खेल्न सक्ने विश्वास गर्छन्। समर्थक जाक मालियास भन्छन्,‘केही अवस्थामा टोली उनीबिना अझ राम्रो खेल्छ। राम्रो खेल्ने अन्य खेलाडीहरू पनि छन्।’
-1781590964261.webp)
कतिपय समर्थकहरू भने रोनाल्डोको व्यक्तित्व र उनी टोलीका लागि आफ्नो भूमिका परिवर्तन गर्न तयार हुन्छन् कि हुँदैनन् भन्ने विषयमा चिन्तित छन्।
समर्थक बिट्रिस मिटान्किनले भनिन्,‘उनी महान् खेलाडी हुन् र लाखौं समर्थकले उनलाई माया गर्छन्। कहिलेकाहीँ त्यसले उनको सोचाइमा असर पार्न सक्छ।’
यद्यपि‚ रोनाल्डो अझै निर्णायक क्षणमा टोलीका लागि उपयोगी हुन सक्ने हालैका खेलमा देखिएको छ। पोर्चुगलले २०२५ को यूईएफए नेसन्स लिग जित्दा उनले आठ गोल गरेका थिए। फाइनलमा स्पेनविरुद्धको बराबरी गोल पनि उनैले गरेका थिए।
-1781590976173.webp)
यस्तै, उनको सफलता यतिमा सीमित छैन। साउदी क्लब अल–नासरलाई पहिलो पटक साउदी प्रो लिगको उपाधि दिलाएका छन्।
सिजनभर २८ गोल गर्दै उनी टोलीका शीर्ष स्कोरर बने। समर्थक रोब स्टिकल भन्छन्, ‘विश्वकपजस्तो दबाबपूर्ण अवस्थामा रोनाल्डो कहिल्यै पछि हट्दैनन्। पेनाल्टी लिनुपरे वा खेलको अन्तिम समयमा नेतृत्व गर्नुपरे उनीजस्तो खेलाडी टोलीलाई चाहिन्छ।’
कीर्तिमानी छैटौं विश्वकप खेलिरहेका रोनाल्डो प्रतियोगिताका सबैभन्दा पाका फिल्ड खेलाडी हुन्। तर‚ उनी अझै पनि पोर्चुगलका पहिलो रोजाइका स्ट्राइकर मानिन्छन्। समर्थक अर्नेस्टो भिलारले उमेरलाई ठूलो विषय नमान्न आग्रह गरेका छन्।
-1781590990765.webp)
उनले लिओनल मेसी र लुका मोड्रिचजस्ता अनुभवी खेलाडीको उदाहरण दिँदै भने,‘उमेर संख्या मात्र हो। रोनाल्डो अझै उत्कृष्ट शारीरिक अवस्थामा छन्।’ उनका सहकर्मीहरू र प्रशिक्षक पनि यही मत राख्छन्।
मिडफिल्डर भिटिन्हाले रोनाल्डोको फिटनेसप्रति आश्चर्य व्यक्त गर्दै भने,‘उहाँ ४१ वर्षको हुनुहुन्छ। म २६ वर्षको छु, तर उहाँजस्तो छैन। यो अविश्वसनीय कुरा हो।’ पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले त रोनाल्डो ४५ वर्षको हुँदा हुने २०३० को विश्वकपमा समेत खेल्न सक्ने संकेत दिएका छन्।
रोनाल्डोको प्रदर्शनबारे बहस जति भए पनि युवा समर्थकहरूका लागि उनी अझै प्रेरणाका स्रोत बनेका छन्। पोर्चुगलको प्रशिक्षण हेर्न आएका धेरै बालबालिकाले आफ्नो आदर्श खेलाडीका रूपमा रोनाल्डोलाई नै रोज्छन्।
१० वर्षीया एलिजाबेथ स्टिबेल भन्छिन्,‘टोलीलाई आवश्यक परेको बेला रोनाल्डो सधैं अगाडि आएका छन्। यही कुरा मलाई मन पर्छ।’











-1787661904658.jpeg&w=3840&q=75)



