‘बहुरुपी’ रोनाल्डो !

काठमाडौं। विभिन्न समयमा लिएका निर्णयका कारण आलोचित हुँदै आएका छन्‚ फिफा अध्यक्ष जियानी इन्फान्टिनो।
पछिल्लो समय विश्वकपसहित फिफाका विभिन्न प्रतियोगिताको साझेदारी निजी कम्पनीलाई बिक्री गर्ने उनको योजना असफल भएपछि उनको नेतृत्वमाथि समेत प्रश्न उठेको छ। युईएफएसहित केही महादेशीय फुटबल संस्थाले पनि उनीमाथिको विश्वास गुमाउँदै गएको चर्चा छ।
यद्यपि, अहिलेसम्म कुनै पनि चर्चित फुटबलरले सार्वजनिक रूपमा इन्फान्टिनोको आलोचना गरेका छैनन्। तर‚ सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोले भने फरक दृश्य देखाएको छ।
-1787585594418.webp)
भिडियोमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो इन्फान्टिनोसँग कुराकानी गरिरहेको देखिन्छन्। कुराकानीपछि रोनाल्डोको हाउभाउलाई लिएर विभिन्न किसिमका चर्चा सुरु भएको छ।
पेरिसमा आयोजित ई–स्पोर्ट्स वर्ल्डकप २०२६ को समापन समारोहमा रोनाल्डो र इन्फान्टिनोको भेट भएको थियो। अल–नासरका स्टार र फिफा अध्यक्षबीच केही सेकेन्ड कुराकानी भयो। त्यस क्रममा इन्फान्टिनोले रोनाल्डोको करिअरमा एक हजार गोल पूरा गर्ने लक्ष्यबारे चर्चा गरेका थिए।
इन्फान्टिनोले रोनाल्डोसँग हात मिलाए र दुवैले एकअर्कालाई अँगालो पनि हाले।
-1787585782066.webp)
त्यसपछि इन्फान्टिनोले सोधे, ‘कस्तो छौ? राम्रो? अब २३ गोल बाँकी छ, हैन?’
रोनाल्डोले जवाफ दिए, ‘हो।’
त्यसपछि फिफा अध्यक्षले भने, ‘शुभकामना। पूरा हुनेछ। अघि बढिराख।’
रोनाल्डोले छोटो जवाफ दिए, ‘धन्यवाद।’
-1787585794730.webp)
तर‚ कुराकानीपछि रोनाल्डो त्यहाँबाट फर्किँदाको अनुहारको भाव सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। भिडियोमा इन्फान्टिनोसँग कुरा गरिरहँदा रोनाल्डो मुस्कुराइरहेको देखिन्छ। तर‚ त्यहाँबाट टाढिँदै गर्दा उनको अनुहारको भाव अचानक परिवर्तन भएको देखिन्छ।
ईएसपीएनले पनि रोनाल्डोको अनुहारको भावलाई भिडियोको सबैभन्दा चर्चित पक्षका रूपमा उल्लेख गरेको छ। सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले उनको हाउभाउलाई इन्फान्टिनोप्रतिको ‘स्पष्ट असन्तुष्टि’का रूपमा व्याख्या गरेका छन्।
-1787585812388.webp)
यद्यपि, भिडियोमा देखिएको हाउभाउका आधारमा रोनाल्डो वास्तवमै इन्फान्टिनोसँग असन्तुष्ट थिए वा थिएनन् भन्ने पुष्टि भएको छैन।
रोनाल्डोले पनि यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर, हामीले छिनको छिनै आफ्नो रुप फेर्नैलाई भन्नैपर्छ ‘बहुरुपी’ रोनाल्डो !












