जनकपुर फर्किए नीशम
मंगलबार, ०९ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी जनकपुर बोल्ट्समै फर्किएका छन्।
नीशमले २०२४ को एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सो संस्करणमा उनले ९ खेलमा २४७ रन बनाएका थिए। यस्तै, बलिङतर्फ ७ विकेट लिएका थिए।
जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत् उनै ३५ वर्षीय नीशमलाई फर्काएको जानकारी दिएको हो।
दोस्रो संस्करणमा भने उनी पोखरा एभेन्जर्स पुगेका थिए। ४ खेल मात्र खेलेका उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए।












