शक्तिशाली स्पेन

युरोपियन च्याम्पियन तथा २०२६ फिफा विश्वकपको उपाधि दाबेदार स्पेनले सोमबार अमेरिकाको एटलान्टामा केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्दैछ।
सन् २०१० मा स्पनेले पहिलो पटक विश्वकप उपाधि जितेको थियो। त्यसपछिका तीन संस्करणमा निराशाजनक प्रदर्शन गरेको थियो। २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ चरणमै सीमित भयो।

तर, युरो २०२४ को उपाधि जितेपछि स्पेन नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूको आगमनसँगै पुनः विश्व फुटबलको शक्तिशाली टोलीका रूपमा स्थापित भएको छ। लामिन यमल, पेड्री, गाभी, फेरान टोरेसलगायत युवा खेलाडीहरूको प्रदर्शनले स्पेनलाई यस विश्वकपको मुख्य दाबेदार बनाएको छ।
पछिल्ला चार वर्षमा स्पेन निकै बलियो देखिएको छ। टोलीले मार्च २०२४ मा कोलम्बियासँग मैत्रीपूर्ण खेलमा १–० ले पराजित भएयता लगातार ३० खेलमा हार बेहोरेको छैन।
यमल खेल्ने सम्भावना अनिश्चित
युरो २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको नयाँ सुपरस्टारका रूपमा उदाएका १८ वर्षीय यमल यस विश्वकपमा पनि स्पेनका मुख्य आकर्षण हुन्।

तर, ह्यामस्ट्रिङ चोटका कारण उनी केप भर्डेविरुद्धको खेलमा सुरुआती रोजाइमा पर्ने वा नपर्नेबारे अन्यौल छ। यद्यपि, टोलीले उनी फिट भइसकेको जानकारी दिएको छ।
यमल र निको विलियम्स दुवै अप्रिलमा लागेको चोटबाट पुनरागमनको अन्तिम चरणमा छन्। उनीहरू बिहीबार टोलीसँग प्रशिक्षणमा फर्किएका थिए। तर, प्रशिक्षक लुइस डे ला फुएन्तेले पूर्ण फिटनेस नआएसम्म सावधानी अपनाउन सक्ने अनुमान गरिएको छ।
विश्वकपमा नयाँ इतिहास रच्दै केप भर्डे
एटलान्टिक महासागरमा अवस्थित १० टापुहरूको देश केप भर्डेले यसपटक पहिलो पटक विश्वकपमा सहभागिता जनाएको छ। पोर्चुगलबाट स्वतन्त्र भएको ५० वर्ष पूरा भएकै वर्ष विश्वकपमा छनोट हुनु देशका लागि ऐतिहासिक उपलब्धि बनेको छ।

६ लाखभन्दा कम जनसंख्या भएको केप भर्डे विश्वकपमा पुग्ने जनसंख्याका हिसाबले तेस्रो सबैभन्दा सानो राष्ट्र बनेको छ। यसअघि आइसल्यान्ड (२०१८) र कुरासाओ (२०२६) ले यस्तो उपलब्धि हासिल गरेका थिए।
सन् २०१३ मा पहिलो पटक अफ्रिका कप अफ नेसन्स (एएफकन) मा छनोट हुँदै क्वार्टरफाइनल पुगेपछि केप भर्डेले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिचान बलियो बनाउँदै आएको छ।
समूह ‘एच’ मा स्पेनसँगै उरुग्वे, साउदी अरेबिया र केप भर्डे छन्। स्पेनको समूह विजेता बन्ने अनुमान गरिएको छ।





-1785838174487.png&w=3840&q=75)




-1786022688387.jpeg&w=3840&q=75)

-1786005627596.jpeg&w=3840&q=75)



