साम्बाबिना नेपालको सबैभन्दा ठूलो परीक्षा
.JPG-1780451083728.jpeg&w=3840&q=75)
आश्मा राई, काठमाडौं। दक्षिण एसियाली महिला फुटबलमा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा अब अर्को सेमिफाइनलमात्र होइन। यो नेपाली महिला फुटबलले आफ्ना स्थापित स्टारबिनै कति अगाडि बढ्न सक्छ भन्ने परीक्षा पनि हो।
गोवास्थित जवाहरलाल नेहरू रंगशालामा बुधबार हुने साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दा सबैको ध्यान नतिजामा मात्र रहने छैन।
नेपाली टोलीले वर्षौंदेखि भरोसा गर्दै आएको नाम सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमा टोलीले आफ्नो पहिचान कसरी निर्माण गर्छ भन्ने प्रश्न पनि त्यत्तिकै महत्त्वपूर्ण हुनेछ।

साम्बा नेपाली महिला फुटबलको पर्यायजस्तै बनेकी छन्। पछिल्ला धेरै वर्षमा नेपालले जितेका अधिकांश महत्त्वपूर्ण खेलमा उनको प्रभाव निर्णायक रह्यो।
भारतविरुद्धको ऐतिहासिक सफलता होस् वा फाइनलसम्मको यात्रा, साम्बा टोलीको केन्द्रमा थिइन्। तर, यसपटक उनी छैनन्। त्यसैले नेपालले पहिलो पटक आफ्नो सामूहिक क्षमता प्रमाणित गर्नुपर्ने अवस्था आएको छ।
समूह चरणका दुई खेलले यही कमजोरी उजागर गरे। भुटानविरुद्ध १–० र श्रीलंकाविरुद्ध २–० को जित निकाल्दा नेपालले अंक त बटुल्यो, तर प्रदर्शनले विश्वस्त बनाउन सकेन।
अवसर सिर्जना भए पनि फिनिसिङ कमजोर रह्यो। आक्रमणको धार हराएको देखियो। विपक्षीको बक्सभित्र पुगेपछि ‘फाइनल टच’को अभाव स्पष्ट देखिएको थियो।
.JPG-1780451224285.jpeg)
यही कारण मुख्य प्रशिक्षक नवीन न्यौपानेमाथि पनि प्रश्न उठिरहेका छन्। नेपालले नतिजा निकालेको छ, तर खेल्ने शैलीले अपेक्षा पूरा गरेको छैन। बंगलादेशजस्तो शारीरिक रूपमा बलियो र संगठित टोलीविरुद्ध यो स्तर पर्याप्त नहुन सक्छ।
यो उनी आफैं स्वीकार्दै भन्छन्,‘पहिलो र दोस्रो खेल जस्तो प्रदर्शन गरेर पुग्दैन। बंगलादेशविरुद्ध उत्कृष्ट खेल्नुपर्छ।’ तर, नेपालका लागि आशाको अर्को पाटो पनि छ। बंगलादेश यसपटक विगतजस्तो अपराजेय देखिएको छैन।
भारतसँग ३–० को हारले साबिक विजेताको आत्मविश्वासमा चोट पुगेको छ। पछिल्ला दुई संस्करणमा भारतलाई सहज रूपमा हराउने टोली यसपटक दबाबमा छ। त्यसैले सेमिफाइनलमा मनोवैज्ञानिक रूपमा नेपाल कमजोर र बंगलादेश बलियो भन्ने अवस्था छैन।
.JPG-1780451270043.jpeg)
अर्को महत्त्वपूर्ण पक्ष प्रीति राईको आगमन हो। समूह चरणभर नेपाली टोलीले राइट फ्ल्याङ्क र क्रसमा निर्भर फुटबल खेल्यो। रचनात्मक मिडफिल्डको अभाव खड्कियो।
प्रीतिको उपस्थितिले आक्रमण र मिडफिल्डबीचको दूरी घटाउने अपेक्षा गरिएको छ। उनी समयमै टोलीसँग घुलमिल हुन सके नेपालले सिर्जना गर्ने अवसरहरूको संख्या बढ्न सक्छ।
.JPG-1780451309796.jpeg)
नेपालका लागि यो खेल फाइनल पुग्ने अवसर मात्र होइन। यो नेपाली महिला फुटबल नयाँ पुस्ता र नयाँ संरचनामा प्रवेश गर्न तयार छ कि छैन भन्ने परीक्षण पनि हुनेछ। वर्षौंदेखि साम्बाको काँधमा टिकेको टोली बुधबार उनीबिना उभिन सक्नुपर्ने हुन्छ।
यदि नेपालले बंगलादेशलाई हरायो भने नेपाली महिला फुटबलले आफ्ना स्थापित स्टारबिनै पनि जित्न सक्छ भन्ने सन्देश दिनेछ। नत्र उपाधि जित्न हिँडेको नेपाल एक कदम पछाडिबाटै स्वदेश फर्किनेछ।





-1785838174487.png&w=3840&q=75)




-1786022688387.jpeg&w=3840&q=75)

-1786005627596.jpeg&w=3840&q=75)



