फाइनलबिनाको विश्वकप

आश्मा राई, विश्वकपको लामो इतिहासमा धेरै रोमाञ्चक, नाटकीय र अविस्मरणीय फाइनल खेलहरू भएका छन्। तर, के तपाईंलाई थाहा छ? विश्वकपको इतिहासमा एउटा यस्तो संस्करण पनि थियो जहाँ कुनै औपचारिक फाइनल खेल नै आयोजना गरिएको थिएन।
सुन्दा अचम्म लागे पनि सन् १९५० मा ब्राजिलमा आयोजित विश्वकप त्यसको साक्षी रह्यो। त्यो एकमात्र संस्करण थियो, जसले फाइनलविनै नयाँ विश्व च्याम्पियन पाएको थियो।
यद्यपि, नियतिको खेल यस्तो रह्यो कि प्रतियोगिताको अन्तिम खेल नै अन्ततः फुटबल इतिहासको सबैभन्दा चर्चित, रोमाञ्चक र दुःखद ‘अनौपचारिक फाइनल’ मा परिणत भयो।

दोस्रो विश्वयुद्धको विनाशकारी प्रभावपछि १२ वर्षको अन्तरालमा विश्वकप पुनः मैदानमा फर्किएको थियो। त्यसबेला फिफा र आयोजक ब्राजिलले परम्परागत नकआउट प्रणालीको सट्टा फरक ढाँचा अपनाए। प्रतियोगिताको अन्तिम चरणमा राउन्ड–रोबिन अर्थात् लिग प्रणाली लागू गरियो।
यस प्रणालीअनुसार समूह चरण पार गरेका उत्कृष्ट चार टोली ब्राजिल, उरुग्वे, स्पेन र स्विडेनलाई समेटेर अन्तिम समूह बनाइएको थियो। यी चार टोलीले एकअर्कासँग खेल्ने र सबै खेलपछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोली विश्वविजेता बन्ने नियम थियो।
घरेलु मैदानमा ब्राजिल निकै शक्तिशाली देखिएको थियो। उसले अन्तिम चरणका पहिलो दुई खेलमा स्विडेनलाई ७–१ र स्पेनलाई ६–१ गोलले पराजित गर्दै शीर्ष स्थान सुरक्षित गरेको थियो। अर्कोतर्फ उरुग्वेले स्पेनसँग २–२ को बराबरी खेलेपछि स्विडेनलाई कठिन संघर्षमा ३–२ ले हराएको थियो।

१६ जुलाईमा ऐतिहासिक माराकाना रंगशालामा हुने अन्तिम खेलअघि समीकरण निकै रोचक बनेको थियो। त्यतिबेला जितका लागि २ अंक दिइन्थ्यो। दुई खेलपछि ब्राजिलको ४ र उरुग्वेको ३ अंक थियो। त्यसैले ब्राजिललाई विश्वकप जित्न बराबरी मात्र पर्याप्त थियो भने उरुग्वेलाई उपाधिका लागि जित अनिवार्य थियो।
कागजमा यो फाइनल खेल थिएन। तर, वास्तविकतामा यही खेल विश्वकपको निर्णायक भिडन्त बनेको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै फ्रियासाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए।
तर, ६६औं मिनेटमा उरुग्वेका हुआन अल्बेर्टो शियाफिनोले बराबरी गोल फर्काए। त्यसपछि खेल सकिन ११ मिनेट बाँकी रहँदा अल्सिडेस गिगियाले कठिन कोणबाट गरेको गोलले इतिहास नै बदलिदियो।

उरुग्वेले खेल २–१ ले जित्दै दोस्रो पटक विश्वकप उपाधि आफ्नो नाममा गर्यो। आयोजक ब्राजिल भने स्तब्ध बन्यो। यो हारलाई ब्राजिलियन फुटबल इतिहासमा ‘माराकानाजो’ का नामले चिनिन्छ। यस पराजयपछि ब्राजिल यति निराश भयो कि त्यसबेलासम्म प्रयोग गर्दै आएको सेतो जर्सीलाई अशुभ मान्दै सधैंका लागि त्यागिदियो।
त्यसपछि सन् १९५४ देखि ब्राजिलले आफ्नो प्रसिद्ध पहेंलो र निलो रंगको जर्सी प्रयोग गर्न थालेको हो।
भारतको अनुपस्थिति र जुत्ता विवाद
१९५० को विश्वकपको अर्को उल्लेखनीय पक्ष भारतसँग जोडिएको थियो। एसियाबाट सहभागी हुने अवसर पाएको भारतले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।

त्यतिबेला भारतीय खेलाडीहरू प्रायः खाली खुट्टाले खेल्ने गर्थे। तर, फिफाले विश्वकपमा जुत्ता लगाएर खेल्न अनिवार्य गरेको थियो। यसका साथै लामो समुद्री यात्राको खर्चलाई पनि कारण देखाउँदै भारतले सहभागिता रद्द गर्यो।
फलस्वरूप, विश्वकप खेल्ने ऐतिहासिक अवसर गुमाउनु भारतीय फुटबल इतिहासको सबैभन्दा ठूलो अपूर्ण अध्यायमध्ये एक बनेको छ।





-1785838174487.png&w=3840&q=75)




-1786022688387.jpeg&w=3840&q=75)

-1786005627596.jpeg&w=3840&q=75)



