काठमाडौं । भारत दक्षिण एसियाली फुटबलको पावर हाउस मानिन्छ ।
सन् २०१० बाट दक्षिण एसियाली फुटबल महासंघले महिलाको पनि प्रतियोगिता आयोजना गर्न सुरु गर्याे ।
प्रतियोगिता सुरु भए देखिनै भारतले महिला फुटबलमा एकछत्र राज गर्यो । दक्षिण एसियामा नेपालले कहिल्यै भारतलाई हराउँन सकेको थिएन ।
सन् २०१०, २०१२ र २०१४ को साफमा नेपाललाई पराजित गर्दै भारतले दक्षिण एसियाली फुटबलमा एक छत्र राज गरेकाे थियाे ।
दक्षिण एसियाली फुटबलमा सधै भारतलाई टक्कर दिएपनि नेपालले कहि्ल्यै खेल आफ्नो पक्षमा पार्न सकेन ।
एक हिसाबले भारतले सधै दक्षिण एसियामा नेपाली महिला फुटबललाई दबाएर राख्यो ।
तर नेपालले करिब ८ बर्षपछि दक्षिण एसियाली फुटबलमा भारतको विरासतलाई ढालेको छ । भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले ऐतिहासिक जित दर्ता गर्न सफल भएको छ ।
भारतीय मैदानमा घरेलु दर्शकलाई निराश बनाउँदै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ र सन् २०२० को जापान ओलम्पिक तयारीका लागि भारतले प्रतियोगिता आयोजना गरेको थियो ।
यसअघि भएका दुई खेलमा मात्र नेपालले भारतलाई बराबरीमा रोकेकाे थियो ।
१२ औं दक्षिण एसियाली प्रतियोगिता साग र सन् २०२० ओलम्पिक छनोटको पहिलो चरणमा भारतलाई १–१ को बराबरी रोक्नुनै नेपाली महिला फुटबलको उत्कृष्ट नतिजा हो ।
यस पटक भने नेपालले भारत माथि २–१ को महत्वपूर्ण जित निकालेको छ ।
नेपालको जितमा दुवै गोल सावित्रा भण्डारीले गरिन् ।
तीन मिनेटको अन्तरमा दुई गोल गर्दै सावित्राले दक्षिण एसियाली फुटबलमा भारतको विरासतलाई ताेड्न सफल भएकी छिन् ।