एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन् । एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि दर्ता भएका ५१२ जना खेलाडीबाट छनोट गरेका १८० जना खेलाडी दुई दिने प्लेयर ट्रायल्समा सहभागि हुनेछन् ।
प्लेयर ट्रायल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गरिनेछ । र, ड्राफ्टमार्फत् ६ टिमले एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।
एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रायल्सबाट ड्राफ्टका लागि खेलाडी छनोट एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताएका छन् । उनी भन्छन्, ‘प्लेयर ट्रायल्सबाट छनोट हुने उत्कृष्ट खेलाडीले ड्राफ्टमा अवसर पाउनेछन् । र, ड्राफ्टमा उपलब्ध खेलाडीहरू लिएर टिम तयार हुनेछन् । त्यसैले दोस्रो सिजनमा खेलाडीसँगै टिमको प्रदर्शन उत्कृष्ट र व्यावसायिक हुने अपेक्षा गरेका छौं ।’
फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।













