नयाँ संयोजन, नयाँ अवसर

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोली बुधबार भारतसँग पुनः आमनेसामने हुँदैछ। यो मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।
यो खेलले फिफा मान्यता नपाए पनि प्रशिक्षक नवीन न्यौपानका लागि यो ‘सिलेक्सन’ र तयारीको अवसर बनेको छ। उनी भन्छन्,‘यो खेललाई हामी सिलेक्सन म्याचका रूपमा लिएका छौं। यसले २३ सदस्यीय स्क्वाडका सबै खेलाडीलाई मैदानमा आफू प्रमाणित गर्ने अवसर दिनेछ।’
दुई दिनअघि मात्र सिलोङमा सम्पन्न त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा नेपाल, भारत र इरानले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा इरानसँग ३–० ले पराजित भए पनि भारतलाई नेपालले २–१ ले हराउँदै आत्मविश्वास बटुलेको थियो।
भारतविरुद्धको सो जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले दुई गोल गरिन्। तर, बुधबारको खेलमा उनी उपलब्ध हुने छैनन्। व्यावसायिक फुटबलका लागि उनी अस्ट्रेलिया फर्किइसकेकी छन्।
साम्बा हाल न्युजिल्यान्डको क्लब विलिङ्टन फोनिक्ससँग आबद्ध छिन्। यो क्लबले अस्ट्रेलियन महिला लिग निन्जा खेल्ने गर्छ। त्यस्तै, मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिला तुम्बापो सुब्बा पनि यो खेलमा अनुपस्थित हुनेछन्।
प्रीति अल– इत्तिहाद क्लबमार्फत जोर्डनमा व्यावसायिक फुटबल खेल्दै आएकी छन् भने अञ्जिला भारतकै सेथु एफसीसँग सम्झौता गरिसकेकी छन्।
यी तीन मुख्य खेलाडीको अभावमा प्रशिक्षक न्यौपानले टोलीमा परिवर्तन र प्रयोग गर्ने संकेत दिएका छन्। टोलीमा रहेकी फरवार्ड पूर्णिमा राई अझै मैदान उत्रिन पाएकी छैनन्। उनले साफ यु-२० महिला च्याम्पियनसिपमा सर्वाधिक १० गोल गरेकी थिइन्।
अर्को तर्फ अञ्जिला र अञ्जना रानामगरले लगातार मौका पाउँदा अर्की गोलकिपर उषा नाथ भने अझै उक्त जिम्मेवारीको पर्खाइमा छिन्। यी दुईबाहेक अन्य खेलाडी पनि टोलीमा स्थान बनाउन आतुर छन्।
तर, प्रशिक्षक न्यौपाने भने यी सबैलाई समान अवसर दिँदै जित्ने मानसिकताका साथ खेल्ने बताउँछन्। ‘यो म्याच च्यारिटी हो, तर हामी खेल जित्ने मानसिकताकै साथ मैदानमा उत्रिन्छौं। फुटबलरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा म्याच नै हो,’ उनी भन्छन्।
टोलीले लगातार यात्रा र खेलको कारण केही थकान महसुस गरेको छ। सोमबार सिलोङमा खेलेर मंगलबार मात्र सिक्किम पुगेकाले टोलीमा ‘फ्याटिक’ देखिन सक्ने अनुमान गरिएको छ। तर, प्रशिक्षक न्यौपानेका अनुसार मैदानमा पुगेपछि खेलको स्वभाव नै प्रतिस्पर्धात्मक हुन्छ। ‘गेम भित्र छिर्नासाथ सबै कुरा जितका लागि नै हुन्छ,’ उनी भन्छन्।
भारतको टोली पनि पूर्ण छैन। यो टोलीले पनि यु–१९ का खेलाडीहरूलाई बढी अवसर दिने तयारी गरेको छ। त्यसैले यो खेल दुवै देशका लागि भविष्यका खेलाडीको परीक्षणस्थल बन्नेछ।
नेपाल र भारतबीच हालसम्म १९ खेल भएका छन्, जसमा नेपालले चार जित दर्ता गरेको छ। यी सबै जित सन् २०१९ यता हात लागेका हुन्। यसपटकको भेट ‘च्यारिटी म्याच’ मात्र नभई, साफ र इन्डोनेसियामा हुन लागेको त्रिदेशिय प्रतियोगिताको तयारीका लागि ‘पर्फर्मेन्स’ मूल्यांयानको मौका पनि हो।
त्यसैले प्रशिक्षक न्यौपानको टोली मैदानमा ‘इन्जोय प्लस विनिङ एटिट्युड’ लिएर उत्रनेछ।







-1761464835584.webp&w=3840&q=75)


copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)

-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
