काठमाडौं । अर्जेन्टिना आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ ।
नेपाल फुटसल संघले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालले आगामी मार्चमा आयोजना हुने विश्वकप खेल्ने जनाएको हो ।
अर्जेन्टिनामा मार्च ३१ देखी अप्रिल ७ सम्म आयोजना हुने विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको संघका महासचिब बटुकृष्ण थापाले जानकारी गराए । गत डिसेम्बरमा पाकिस्तानमा भएको तीन राष्ट्रबीचको सिरिजमा दोस्रो हुँदै नेपालले वाइल्ड कार्ड प्राप्त गरेको थापाले बताए ।
फिफा भन्दा अलग रहेको विश्व फुटसल महासंघले आयोजना गर्ने प्रतियोगितामा आयोजक अर्जेन्टिना, फ्रान्स, उरुग्वे, इटाली, रुस,पराग्वे, अष्ट्रेलिया लगायतका १६ राष्ट्रले सहभागिता जनाउने छन् ।
विश्वकपका लागि संघले आगामी शुक्रबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा छनोट आयोजना गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संघका उपाध्यक्ष सन्तोस पराजुलीले यस संघ एन्फा र फिफा भन्दा बाहिर रहेको संघ रहेको बताए ।
'हाम्रो एन्फासंगको लडाई हैन । हामी फिफा र एन्फा बाहिरको संस्था हौ । हामी आफ्नै नियम अनुसार चल्छौ,' उपाध्यक्ष पराजुलीले भने ।
यस्तै उपाध्यक्ष पराजुलीले यस फुटसलमा फिफाको फुटसलसंग रहेको भन्दा १५ नियम फरक रहेको बताए ।