काठमाडौं । सन्जय लामाले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् ।
पोखराको हिमालयन गल्फ कोर्समा शिवराम श्रेष्ठ र शुक्र बहादुर राईलाई २ स्ट्रोक्सले पछि पार्दै सन्जयले उपाधि जितेका हुन् ।
शुक्रबार २ ओभर ७१ स्कोर जोड्दै कुल इभन पार २०७ स्कोरसहित उपाधि जिते । उपाधिसंगै सन्जयले १ लाख २० हजार नगद प्राप्त गरे ।
नेपालका नम्बर एक गल्फर शिवरामले शुक्रबार इभन पार ६९ बनाउदै कुल २ ओभर २०९ स्कोर बनाए । शिवरामले ७७ हजार प्राप्त गरे । एमेच्योर खेलाडी शुक्रले शुक्रबार १ अन्डर ६८ सहित कुल २०९ स्कोर बनाए ।
रबी खड्काले कुल ३ ओभर २१० स्कोरसहित तेस्रो स्थान हात पारे । रबीले ५५ हजार नगद हात पारे । कुल ४ ओभर २११ स्कोरसहित चौथो बनेको सुर्य प्रसाद शर्माले ४३ हजार प्राप्त गर्दा पाँचौ बनेको कृष्ण मान राजबाहकले ३५ हजार प्राप्त गरे ।
३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा शीर्ष २१ मा रहने खेलाडीहरुले नगद पुरस्कार पाएका थिए ।
विजेतालाई सुर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रबिन्द्र मान सिंह, नेपाल गल्फ एसोसियसनका टासी घले लगायतले पुरस्कृत गरे ।