काठमाडौं । शीर्ष स्थानमा रहदै सन्जय लामा सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका छन् ।
पोखराको हिमालयन गल्फ कोर्स बिहिबार इभन पार ६९ स्कोर कुल २ अन्डर १३६ स्कोरसहित सन्जयले शीर्ष स्थान हासिल फाइनल चरणमा पुगेका हुन् । रबी खड्का कुल एक अन्डर १३७ स्कोरसहित दोस्रो स्थानमा रहेर फाइनल चरणमा पुगेका छन् ।
यस्तै नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले बिहिबार २ ओभर ७१ स्कोरसहित कुल २ ओभर १४० स्कोर जोड्दै तेस्रो स्थानमा रहेर फाइनल चरणमा स्थान बनाए ।
त्यस्तै जयराम श्रेष्ठ चौथो र एमेच्योर खेलाडी शुक्र बहादुर राई पाँचौ स्थानमा छन् ।
३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सुर्य नेपाल प्रालिको मुख्य प्रायोजन र नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको फाइनल चरणको खेल शुक्रबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।