काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य जुमानु राई चैतको अन्तिम साता स्वदेश फर्कने भएका छन् ।
हाल युएन मिसन अन्तर्गत हाईटीमा रहेका जुमानुले आफु चैतको अन्तिम साता नेपाल फर्कने बताएका हुन् ।
सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका जुमानु सन् २०१५ मा भएको साफ च्याम्पियनपछि राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन् ।
नेपालले बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडालिटी कप जस्ता ऐतिहासिक सफलता हात पार्दा जुमानु भने टोली बाहिर थिए । पछिल्लो समय जुमानु युएन मिसनको क्रममा हाईटीमा रहेका छन् ।
‘राष्ट्रिय टिममा युवा खेलाडीको समय भएको छ । उनीहरु निकै उत्कृष्ट छन् । म सुखद बिदाईको पर्खाईमा छु ।’ उनले भने, ‘अब मेरो समय भन्दा पनि युवा पुस्ताको समय आएको छ । जुनियरहरु निकै मिहेनती समेत छन् ।’
‘देशको लागि सक्ने योगदान गरियो, दुख गरियो । एउटा ईच्छा भनेको सुखद बिदाईका साथ राष्ट्रिय फुटबलबाट बिदा हुने ईच्छा छ ।’ उनले थपे ।
राष्ट्रिय टिमबाट टाढा भएपनि क्लब फुटबलमा केही समय बिताउने उनको योजना छ ।
‘राष्ट्रिय टिमबाट मात्र टाढा भएको हो । क्लबका लागि अझै पनि खेल्न सक्छु ।’ उनले भने, ‘बाहिर पनि (हाइटी ) बिहान बेलुका खेल्छु । फिटनै छु ।’
नेपाल पुलिसको सहायक निरिक्षक दर्जामा रहेको उनी क्लबका पुर्व कप्तान समेत हुन् । स्वेदश फर्किएपछि घरेलु फुटबलमै व्यस्त हुने बताएका उनले प्रशिक्षण कोर्स समेत अघि बढाउने योजना सुनाए । उनले सी कोचिङ लाईसेन्स पार गरिसकेका छन् ।
नेपाल राष्ट्रिय फुटबल टिमबाट ५३ क्याप जितेका जुमानु ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनी भन्दा अगाडी रहेका हरी खड्का र निराजन रायमाझी १३–१३ गोल गरेका छन् ।