काठमाडौं। स्वस्तिश्री गुरुकुल स्कुलले तेस्रो संस्करणको विद्यालयस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ।
टुसाल मल्टी भेन्यूद्वारा आयोजित बुधबार सम्पन्न प्रतियोगितामा स्वस्तिश्री गुरुकुल स्कुलले सिनियर ब्वाइज, जुनियर गर्ल्स र जुनियर ब्वाइजमा स्वर्ण र सिनियर ब्वाइजमा थप एक कास्यसहित उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो।
तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा २५ मिटर फ्री स्टाइलमा खेलाइएको उक्त प्रतियोगितामा सिनियर ब्वाइजतर्फ स्वस्तिश्री गुरुकुलका आलज रञ्जितले निर्धारित दुरी १५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल भए। सोही विधामा ओमेगा इन्टरनेशनलका एरिक कर्माचार्य दोस्रो र स्वस्तिश्रीका कृतज्ञ कोजु तेस्रो भए।
सोही विधाको गर्ल्स तर्फ राजश्री गुरुकुलकी दिव्यानी श्रेष्ठ स्वर्ण पदक चुम्न सफल भइन्। उनले निर्धारित दुरी १८.०६ सेकेन्डमा पुरा गर्दै पहिलो भइन्। उक्त विधामा संस्कृत इन्टरनेशनलकी प्रिन्सा कार्की दोस्रो र सेन्ट मेरिजकी युत्सा श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताको जुनियर ब्वाइजमा पनि स्वस्तीश्री गुरुकुलका आर्थव महर्जन १६.३९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जित्न सफल भए। जुनियर ब्वाइजमा समृर्द्धी स्कुलका दिव्यांशु प्रजापति दोस्रो र पिनाकल स्कोलर्स स्कुलका रियाज अधिकारी तेस्रो भए।
यता जुनियर गर्ल्समा पनि स्वस्तीश्री गुरुकुलकी एजला रञ्जित स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित दुरी १७.०५ सेकेन्डमा पुरा गरिन्। उक्त स्पर्धामा सेन्ट मेरिजकी श्रेयशी श्रेष्ठ दोस्रो र मल्पी सिटिकी साध्वी थापा तेस्रो भइन्।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई टुसाल मल्टिभेन्यू प्रालीका एमडी दिपेन्द्र थापाले मेडल ट्रफी र सम्मान पत्र दिएर पुरस्कृत गरे ।एक दिने प्रतियोगितामा ४० विद्यालयका ६३ ब्वाइज र २८ गर्ल्सगरी जम्मा ९१ जनाले प्रतिस्पर्धा गरेका थिए ।