काठमाडौं। काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्घनलाई पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ।
पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई पराजित गरेकी थिइन्।
कांस्य जित्न उनले मिसेभलाई १५–८ ले पाखा लगाइन्। उनी बुधबार बिहान स्वदेश फिर्ता भएका हुन्। स्वदेश फिर्ता भएसँगै उनलाई महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनीता डंगोलले सम्मान गरेका हुन्।
पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपैयाँसहित सम्मान गरिएको छ।