सन्न्यास लिने सोचमा छैनन् नेयमार

काठमाडौं। ब्राजिलियन स्टार फुटबलर नेयमार जुनियरले सान्तोससँगको आफ्नो वर्तमान सम्झौता, भविष्यको करिअर र सम्भावित सन्न्यासबारे फेरि खुला रूपमा प्रतिक्रिया दिएका छन्।
उनले डिसेम्बरसम्म सान्तोसमै रहने पुष्टि गरे पनि सन् २०२७ सम्म फुटबल खेलिरहने वा त्यसअघि नै खेल जीवन समाप्त गर्ने भन्ने विषयमा अझै कुनै अन्तिम निर्णय नगरेको बताएका छन्।
सोमबार आफ्नो परोपकारी संस्था इन्स्टिच्युटो नेयमार जुनियरको छैटौं वार्षिक च्यारिटी लिलामी कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेयमारले अहिले सन्न्यास लिने सोचमा नरहेको बताएका छन्। तर‚ डिसेम्बरमा सम्झौता सकिएपछि आफ्नो भविष्यबारे गम्भीर रूपमा विचार गर्ने बताए।
उनले भने,‘म अझै कति समय फुटबल खेल्छु भन्ने निश्चित छैन। अहिले नै खेल छोड्ने सोच छैन, तर कहिलेसम्म खेल्न सक्छु भन्ने पनि भन्न सक्दिनँ। सान्तोससँग मेरो सम्झौता आगामी डिसेम्बरसम्म छ र त्यसलाई पूर्ण रूपमा सम्मान गर्दै पूरा गर्न चाहन्छु। त्यसपछि सान्तोसमै बस्ने, अर्को क्लबमा जाने वा फुटबलबाट सन्न्यास लिने भन्नेबारे निर्णय गर्नेछु। अहिले नै के गर्ने भन्ने मलाई थाहा छैन, किनकि डिसेम्बर आउन अझै समय बाँकी छ।’
यसैबीच, कोपा दो ब्राजिलको दोस्रो लेगअन्तर्गत बुधबार सान्तोसले रेमोसँग खेल्दैछ। टोलीका अधिकांश खेलाडी सोमबार नै बेलेम प्रस्थान गरे पनि आफ्नो परोपकारी कार्यक्रमका कारण नेयमार उनीहरूसँग जान सकेनन्। उनी मंगलबार आफ्नो निजी जेटमार्फत जाने तयारीमा छन्।











-1785743764437.jpeg&w=3840&q=75)
