काठमाडौं। पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्घनले अब गर्वकासाथ नेपालसँग पनि ओलम्पिक पदक छ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छन्।
पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई पराजित गरेकी थिइन्।
कांस्य जित्न उनले मिसेभलाई १५–८ ले पाखा लगाइन्। रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। उनी बुधबार बिहान स्वदेश फिर्ता भएका हुन्। स्वदेश फिर्ता भएसँगै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नगर परिक्रमा गराउँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा पुर्याइएको थियो।
‘एकदमै खुसी छु। किनभने मेडल हात मार्न सक्छु भनेर मैले आशा गरेको थिइन्। तर, सबैले एउटा आशा गर्नुभएको थियो पलेशाले मेडल लिएर आउँछ भनेर। मैले त्यो पूरा गरेर फर्किएकी छु। यो मेडल मेरो मात्र होइन सबैको हो। अब ह हामीसँग पनि एउटा ओलम्पिक मेडल छ भनेर गर्वको साथ भन्न सक्छौं,’ उनले भनिन्।
विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो। पलेशालाई विमानस्थल, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पुर्याएर स्वागत गरिएको हो।