काठमाडौं। पेरिस पारालिम्पिक– २०२४ नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन्।
पलेशाले शुक्रबार भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी थिइन्। योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ। यस्तै, रजत जित्नेलाई ९७ लाख र कांस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ। यही व्यवस्था अनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन्।
यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ।