जीवनरक्षक तालिम सुरु
आइतबार, १३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पौडी संघको आयोजनामा जीवनरक्षक तालिम सुरु भएको छ।
अन्तर्राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरी सातदोबाटो ललितपुरमा उक्त तालिम सुरु भएको हो। तालिममा चार महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन्।
संघले निरन्तर २०० मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागीहरु सफल हुन सकेनन्।
तालिमको औपचारिक उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले तालिमले दक्ष जीवन रक्षकको उत्पादन संगै पौडी पोखरीहरुमा हुने दुर्घटनाबाट मानवीय क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे। तालिम साउन १९ गतेसम्म संचालन हुने संघले जनाएको छ।
















