काठमाडौं। अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्। ह्विलचियरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भएका हुन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा अकलले निर्धारित दूरी पूरा गर्न १८.६७ सेकेन्ड खर्चे। विराज भाट दोश्रो तथा विष्णुपुकार श्रेष्ठ तेश्रो भए। जेनिशाले निर्धारित दूरी तय गर्न ३४.४४ सेकेन्ड समय खर्चिन्। जुनु शाही दोश्रो तथा संगिता माझी तेश्रो बने।
जोरपाटीस्थित पिस क्लबमा भएको प्रतियोगिताको पुरुष स्टेन्डिङ २५ मिटर फ्रि स्टायलमा हर्कमान घर्ती मगरले स्वर्ण जिते। उनले १९.३२ सेकेन्ड समय लगाए। लिङजेन लामाले रजत तथा रमेश खत्रीले कांस्य जिते। सो स्पर्धाको महिलामा डा. समना गैरे पहिलो भइन्। समनाले १९.८८ सेकेन्डमा दूरी तय गरिन्। मन्नु चौधरी दोश्रो तथा पार्वती खत्री तेश्रो भए।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। एकदिने प्रतियोगितामा ३० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अघिल्लो दिन बुधबार ५० खेलाडीलाई प्रशिक्षण गराइएको थियो। प्रशिक्षणमा समावेश खेलाडी मध्येबाट प्रतियोगिताका लागि ३० खेलाडी छनोट गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।