काठमाडौं । सुवास तामाङ र शुक्र बहादुर राई भियतनाममा हुने फाल्डो सिरिज एसियाको फाइनल चरणमा छनोट भएका छन् ।
गोकर्ण गल्फ क्लबमा सम्पन्न फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिताको उपाधि जित्दै सुवास फाइनल चरणका लागि छनोट भएका हुन् । सुवासले उपाधि जित्ने क्रममा पाँच अन्डर २११ स्कोरकार्ड बनाए ।
यस्तै शुक्र उपविजेता बन्दै दोस्रो चरणका लागि छनोट भएका हुन् । साबिकको विजेता शुक्रले इभन पार २१६ स्कोर कार्ड जोडे ।
महिला तर्फको उपाधि करिश्मा शाहले जितिन् । तर, करिश्मा कम स्कोरको कारण छनोट हुन सकिनन् ।
फाल्डो सिरिज एसियाको फाइनल चरण भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०१९ को मार्चमा हुनेछ ।
सिरिजमा २६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई नेपाल गल्फ संघका अध्यक्ष टाँसी घले लगायतले पुरस्कृत गरे ।