काठमाडौं । सुवास तामाङले फाल्डो सिरिज जुनियर गल्फ प्रतियोगिताको दोस्रो दिन मंगलबार आफ्नो अग्रतालाई कायम राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा १६ बर्षे सुवासले शुक्र बहादुर राईमाथि ९ स्ट्रोक्सको अग्रता बनाएका छन् । सोमबार ६ अण्डर ६६ स्कोर बनाएका सुवासले कुल ७ अण्डर १३७ स्कोर बनाएका छन् । दोस्रो स्थानमा रहेका शुक्रले २ ओभर १४६ स्कोर बनाएका छन् ।
साम डोउब्लार्ड तेस्रो स्थानमा रहेका छन् । यस्तै साम १२ देखि १६ बर्ष उमेर समूहको पुरुषको दोस्रो स्थानमा छन् ।
महिलातर्फ करिश्मा शाहले अग्रता बनाएकी छिन् । ३२ ओभर १७६ स्कोरसहित करिश्माले प्रतिभा राईलाई पछि बनाएकी हुन् । दोस्रो स्थानकी प्रतिभाले ३४ ओभर १७८ स्कोर बनाएकी छिन् । जुनी गुरुङ तेस्रो स्थानमा छिन्छ ।
बुधबारसम्म संचालन हुने सिरिजमा २६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाल गल्फ एसोसियसनले पछिल्लो पाँच बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ ।
सिरिजको विजेताले भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०१९ मार्चमा हुने फाइनल चरणमा छनोट हुनेछन् ।